• १३ साउन २०८१, आइतबार

जलवायु सम्मेलनको सार्थकता

blog

वर्तमान विश्वका लागि जलवायु परिवर्तन निकै नै टाउको दुखाइको विषयका रूपमा देखिएको छ । यसबाट सिर्जित समस्या विश्वभर छरप्रस्ट छन्। ताममान बढिरहेको छ भने हिमनदीहरू पग्लिरहेका छन्। कृषि उत्पादनमा प्रतिकूल असर परिरहेको छ भने समुद्रमा पानीको सतह बढेर तटवर्ती सहरहरू जोखिममा परेका छन्। अनेक रोगब्याधिको कारणसमेत जलवायु परिवर्तनसित जोडेर अध्ययन अनुसन्धान भइरहेको छ। जलवायु समस्याबाट उत्पन्न समस्या समाधानार्थ अन्तर्राष्ट्रिय स्तरमा सभा सम्मेलनको आयोजनाले निरन्तरता पाइरहेका छन्। यी सभा सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीको प्रभावकारी सामना गर्न भावी रणनीति अख्तियार नै प्रमुख लक्ष्य रहिआएको पाइन्छ। 

जलवायु परिवर्तनको गहन् विषयका सम्बन्धमा इजिप्टको सार्म ऐल शेखमा कोप २७ सम्मेलन प्रारम्भ भइसकेको छ। यो सम्मेलनको कार्यसूची जलवायु परिवर्तनका कारण देखिएको विश्वव्यापी नोक्सानीको विषयलगायत छ। जलवायु परिवर्तनमा विगत एक डेढ सय वर्षमा दोहन भएको प्राकृतिक स्रोत प्रमुख कारणका रूपमा लिइने गरिन्छ। यो अवधिमा जैविक इन्धनको व्यापक प्रयोग भयो। धनी तथा औद्योगिक राष्ट्रले प्राकृतिक स्रोतको व्यापक प्रयोग गरी समृद्धि हासिल गरेका छन्। यसै कारण विश्वमा अति नै तीव्र गतिमा जलवायु परिवर्तनको समस्या देखापरिरहेको वैज्ञानिकहरूको तर्क छ। फलस्वरूप हरितगृह ग्यास उत्सर्जन, बाढी पहिरोको समस्या, हिमनदीको पग्लिने प्रक्रिया, वन डढेलो, खडेरी, आँधीजस्ता समस्या उत्पन्न भएको यथार्थ हो। जलवायु परिवर्तनबाट सिर्जित समस्याबाट अति प्रभावितलाई सहयोग पु-याउने तथा यस सम्बन्धमा भावी रणनीति अख्तियारीजस्ता उद्देश्य यो सम्मेलनको रहेको छ। यस अर्थमा नेपालजस्ता जलवायु परिवर्तनका कारण प्रभावित राष्ट्रहरूका लागि निकै महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च बनेको छ।

जलवायु परिवर्तनका कारण पीडित राष्ट्रहरूको पङ्क्तिमा नेपाल पनि अग्रस्थानमा छ । हिमाल, पहाड र तराईको भूभाग रहेको नेपालमा जलवायु परिवर्तनको असर तीव्र बन्दै छ। हिजोको सेता हिमाल हिउँ पग्लिएर काला बन्दै छन्। बाढीपहिरो, अनावृष्टि अतिवृष्टि, भूक्षयीकरण व्यापक बनेको छ। यसले कृषि उत्पादनमा देखिएको प्रतिकूल प्रभाव जलवायु परिवर्तनको उपजका रूपमा मान्न सकिन्छ। यसर्थ पनि नेपालले यस विश्वव्यापी सम्मेलनलाई भरपुर उपयोग गरेर यी समस्यालाई विश्वसामु पु¥याउनु अति जरुरी छ। यसका निम्ति क्षतिपूर्ति पाउनुपर्ने विषयलाई उच्चतम प्राथमिकता साथ उठाउनुको विकल्प देखिँदैन। 

सम्मेलनमा नेपालको सक्रिय सहभागिता रहेको छ । यस सम्बन्धमा वन तथा वातावरण मन्त्रालयले सम्मेलनमा प्रस्तुत गर्न तयार पारेको अवधारणापत्रमा जलवायु परिवर्तनका कारण नेपालमा खाद्य असुरक्षाको स्थिति वृद्धि भइरहेको अवस्थालाई उच्च महत्त्वका साथ उठाएको छ। यो असाध्य नै सकारात्मक पक्ष हो। साथै यही कारणले एक वर्षे अवधिमा विश्वव्यापी रूपमा भएको प्रगति, हानि, नोक्सानी र आर्थिक पक्षका पाटाका सम्बन्धमा समेत नेपालले आवाज उठाउनुले विश्वव्यापी जलवायु परिवर्तनका विषयमा हाम्रो मुलुक कति सचेत, सजग तथा चिन्तित छ भन्ने तथ्यलाई चित्रण गर्नेछ। अन्तर्राष्ट्रिय समुदाय नेपालको परिवेशसित परिचित हुन सके सम्मेलनले सार्थकता पाउनेछ। 

जलवायु परिवर्तनले गर्दा नेपालजस्ता पर्वतीय मुलुकहरूको पर्यावरणीय क्षेत्रमा परिरहेको प्रभाव समग्रमा गम्भीर चिन्ताको विषय हो। विगतमा जस्तै यस सम्मेलनमा पनि नेपालले यस विषयमा पर्वतीय राष्ट्रहरूको समस्या प्रतिनिधित्व गरेर टिप्पणी गरिनु सान्दर्भिक विषय हो। जलवायु परिवर्तनका कारण सिर्जित समस्या न्यूनीकरणका लागि धनी राष्ट्रबाट दिइने सहयोग ऋणको साटो अनुदान हुनुपर्ने तथ्य पनि अति नै महत्त्वपूर्ण छ। इजिप्टमा भइरहेको यो कोप २७ अन्तर्राष्ट्रिय विषयवस्तुका उठानका दृष्टिबाट निकै महत्त्वपूर्ण हुने अपेक्षा गर्न सकिन्छ। यसबाहेक नेपालले यस सम्मेलनमा आफ्ना तर्फबाट प्रस्तुत गर्ने विषयले महत्त्व पाउने विश्वास लिन सकिन्छ। खाद्य असुरक्षा, क्षतिपूर्ति, पर्वतीय राष्ट्रहरूको सामूहिक समस्या, ऋणको तुलनामा अनुदानमा जोडजस्ता विषयले नेपालको प्रस्तुति उपयोगी हुनेछ। साथै यस सम्मेलनलाई आफ्नो हित अनुकूल पार्न नेपाललगायत जलवायु परिवर्तनका कारण पीडित राष्ट्रहरूले सामूहिक विषयलाई एकजुट भएर उठाउनु आवश्यक छ। अन्तर्राष्ट्रिय सभा सम्मेलनमा उठान गरेको विषयलाई राष्ट्रिय नीति, योजना र कार्यक्रममा समावेश गर्नुसमेत आवश्यक छ। जलवायु परिवर्तनका खातिर जनसाधारणमा परेको प्रभाव न्यूनीकरण मूल विषय हो । गोष्ठी र सभासम्मेलनमै ठूलो राशि खर्च गरेर जनसाधारणको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्न भन्ने पक्षलाई समेत गम्भीर रूपमा मनन गर्नु जरुरी छ।