• १९ असोज २०८१, शनिबार

काभ्रेपलाञ्चोकमा कडा प्रतिस्पर्धा

blog

केशवराज पौडेल/केदार तिमल्सिना

काभ्रेपलाञ्चोक, कात्तिक २१ गते ।  काभ्रेपलाञ्चोक जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि दलहरूले आक्रामक चुनावी अभियान सञ्चालन गरेका छन् । प्रतिनिधि सभाको दुईवटा निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा कात्तिक १७ अघि सामान्य घरदैलो गरेका दलले अहिले सार्वजनिक तथा चुनावी सभा गर्न थालेका हुन्। सामाजिक सञ्जालसँगै स्थानीय सञ्चार माध्यममा आक्रामक रूपमा प्रचार थालेका दलसँगै स्वतन्त्र उम्मेदवार यतिबेला गाउँ तथा बस्तीमा पुगेर आमघोषणापत्र तथा प्रतिबद्धतापत्रमा रहेको कुरा राख्न थालेका छन्। दलका चुनावी कार्यक्रमले आममतदाताको ध्यान प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ का उम्मेदवारमा केन्द्रित भएको छ। 

काभ्रेपलाञ्चोक जिल्लाको दुवै क्षेत्रमा ‘हेवी वेट’ नेताबीच प्रतिस्पर्धा हुने भएपछि दलले आफ्नो सम्पूर्ण शक्ति प्रचारमै केन्द्रित गरेका छन्। जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा गठबन्धनले नेपाल कम्यु्निस्ट पार्टी  (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा पूर्वराज्यमन्त्री सूर्यमान दोङलाई उम्मेदवार बनाएको छ। २०६४ को संविधान सभा सदस्य बन्नुभएका दोङ काभ्रेकै चर्चित माओवादी नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँसँग नेकपा (एमाले)ले केन्द्रीय सदस्य रेशम लामा प्रतिस्पर्धामा उतारेको छ। राप्रपा नेपालको सहमहामन्त्री परित्याग गरी एमाले प्रवेश गर्नुभएका लामा दुई पटकसम्म राज्यमन्त्री बन्नुभएको थियो। एमाले पोलिटब्युरो सदस्य लामा र दोङबीचको चुनावी प्रतिस्पर्धा कडा हुने आकलन गरिएको छ।

२०४४ सालमा नेकपा मसालबाट राजनीतिक यात्रा सुरु गर्नुभएका दोङ नेकपा माओवादीको दस वर्षे सशस्त्र द्वन्द्वमा सहभागि हुँदै पार्टीका विभिन्न तहको नेतृत्व गर्दै आउनुभएका दोङलाई पार्टीले बलियो उम्मेदवारका रूपमा क्षेत्र नम्बर १ मा उठाएको हो। २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा दोङले कांग्रेसका मधुप्रसाद आचार्य र एमालेका सङ्ग्रामजित लामालाई पराजित गर्दै संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो। २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा भने दोङ नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामासँग पराजित हुनुभएको थियो। 

यसैगरी २०४७ सालदेखि विद्यार्थी सङ्गठनबाट राजनीति यात्रारम्भ गर्नुभएका एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वराज्यमन्त्री रेशम लामालाई एमालेले क्षेत्र नम्बर १ को बलियो उम्मेदवारका रूपमा अघि बढाएको हो। राप्रपा, राप्रपा नेपालको विभिन्न तहको नेतृत्व गर्नुभएका लामा २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा राप्रपा नेपालबाट समानुपातिक सांसद बन्नुभएको थियो। यो क्षेत्रमा मुख्य गरी गठबन्धनमा रहेका दल र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ। स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने गठबन्धनका उम्मेदवार अघि देखिन्छन्। एमाले भने स्थानीय तहको निर्वाचनको आधारले मात्रै खासै फरक नपर्ने दाबी गर्दै आएको छ। 

गठबन्धनले प्रदेश सभा १ (१)मा माओवादी केन्द्रका नेता तथा बागमती प्रदेशका मन्त्री रत्न ढकाल  १ (२)मा नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थ लामालाई उम्मेदवार बनाएको छ। सो निर्वाचन क्षेत्रको १ (१)मा एमालेले जिल्ला कमिटी सचिवालय सदस्य दिलबहादुर तामाङ र १ (२)मा बागमती प्रदेशका पूर्वमन्त्री तथा एमाले जिल्ला कमिटीका उपाध्यक्ष चन्द्र लामालाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा चर्चित नेता गणेश लामालाई पराजित गरेका चन्द्र र तीर्थको निर्वाचन रोचक हुने आकलन गरिएको छ। प्रतिनिधि सभा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ मा एक लाख ५२ हजार ६२१ मतदाता रहेका छन्। १२ जना दल तथा छ जना स्वतन्त्र गरी यो निर्वाचन क्षेत्रमा १७ जना उम्मेदवारले प्रतिस्पर्धामा उत्रिएका छन्। 

काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ नेपालमै चर्चित निर्वाचन क्षेत्र हो। गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा काभ्रेका पूर्वसभापति शिवप्रसाद हुमागाईं र नेकपा (एमाले)का तर्फबाट पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाबीचको प्रतिस्पर्धा निक्कै रोचक हुने अनुमान गरिएको छ। 

गठबन्धन र एमालेबाट उम्मेदवारी दिएका दुवै उम्मेदवार जिल्लाको हेभिवेट उम्मेदवार र जिल्ला पार्टीको नेतृत्व गरेको र दुवै नेताको जिल्लामा राम्रो जनसम्पर्क रहेको नेताका रूपमा परिचित भएकाले जिल्लाभरिको ध्यान सो निर्वाचन क्षेत्रमा परेको छ। निर्वाचनअगाडि नेपाली कांग्रेसका नेता हुमागाईं र एमालेका नेता बाँस्कोटाबीच पार्टी फरक भए पनि दुई नेताबीच आन्तरिक सम्बन्ध राम्रो रहेकाले निर्वाचनमा दुई नेता एकआपसमा प्रतिस्पर्धामा नउत्रने आकलन गरिएको थियो। दुवैले टिकट ल्याएपछि अन्ततः दुई नेताबीच कडा चुनावी प्रतिस्पर्धा हुने भएको हो। 

२०५६ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा हुमागाईं जिल्लाको क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो। उहाँले तत्कालीन अवस्थामा एमालेका नेता केशव वडाललाई पराजित गरेर चर्चा बटुल्नुभएको थियो तर उहाँ २०६४ र २०७० को संविधान सभा निर्वाचनमा पनि पराजित हुनुभएको थियो। विद्यार्थी जीवनदेखि राजनीतिमा होमिनुभएका २०३८ सालमा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका पूर्वमन्त्री गोकुल बाँस्कोटा पार्टीका विभिन्न भ्रातृ सङ्गठन र पार्टीको विभिन्न तहको नेतृत्व गर्दै हाल पार्टीको पोलिटब्युरो सदस्य रहनुभएको छ। 

२०७० सालको संविधान सभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार कञ्चनचन्द्र बादेसँग पराजित हुनुभएका बाँस्कोटा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ मा कांग्रेसका मधुप्रसाद आचार्यलाई पराजित गरी मन्त्रीसमेत हुनुभएको थियो। अघिल्लो निर्वाचनमा २२ हजार मतान्तरले विजयी हुनुभएका बाँस्कोटालाई यस पटक अघिल्लै विरासत कायम राख्ने हिसाबले चुनावी मैदानमा उत्रिनुभएको छ भने गठबन्धनका दलहरू भने एमालेको विरासत तोड्नका लागि चुनावी रणनीति बनाएर अघि बढेका छन्। यो क्षेत्रमा मुख्य गरी गठबन्धनमा रहेका दल र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ। 

सो निर्वाचनको २ (१)मा गठबन्धनका तर्फबाट संविधान सभा सदस्य नेपाली कांग्रेसका बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादे र एमालेका बागमती प्रदेश सदस्य कुमार थापाबीच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ। त्यस्तै प्रदेश २ (२)मा गठबन्धनका तर्फबाट नेकपा एसका बागमती प्रदेशका सचिव तथा पूर्वसांसद लक्ष्मण लम्साल र एमालेका बागमती प्रदेश सदस्य कुमार खकुरलबीच प्रतिस्पर्धा हुने देखिन्छ। 

प्रतिनिधि सभा क्षेत्र नं. २ काभ्रेपलाञ्चोकमा एक लाख ५७ हजार ४४२ मतदाता रहेका छन्। त्यसमा ११ जना दलका उम्मेदवार र पाँच जना स्वतन्त्र उम्मेदवार गरी १६ जना चुनावी प्रतिस्पर्धामा छन्। काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार मनोज पण्डित, दिनेश हुमागाईं, प्रदेश सभाका उम्मेदवार रन्जिव श्रेष्ठ, ताराबहादुर कुँवरले समेत आक्रामक रूपमा प्रचार गरिरहेका छन्।