• १२ असार २०८१, बुधबार

बानेश्वरमा अण्डरपास निर्माण अघि बढ्दै, कन्सलटेन्ट हायर

blog

काठमाडौं कलङ्कीमा निर्माण गरिएको अण्डरपास । फाइल तस्बिर ।

काठमाडौं, कात्तिक २० गते । काठमाडौंको बानेश्वरमा अन्डरपास सडक निर्माण गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा कोटेश्वर र बानेश्वरमा अण्डरपास सडक निर्माण गर्ने घोषणाअनुसार अन्डरग्राउन्ड सडक निर्माण गर्न लागेको हो । पहिलो चरणमा बानेश्वरको अण्डरपास सडक निर्माण गर्न लागिएको छ । 

जसका लागि डिजाइन तयार गर्न कन्सल्टेन्ट हायर गरिएको सडक विभाग अन्तर्गतको गुणस्तर तथा विकास केन्द्रका सूचना अधिकारी इन्जिनियर सौरभ बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बानेश्वरमा बन्न लागेको नयाँ अण्डरपास निर्माणका लागि हाल डिजाइन तयार पार्न कन्सलटेन्ट हायर गर्ने काम भएको छ । गत सोमबार हायरको सूचना निकालेका थियौँ ।’

बानेश्वरमा बन्न लागेको नयाँ अण्डरपास निर्माणका लागि हाल डिजाइन तयार पार्न कन्सलटेन्ट हायर गर्ने काम भएको छ । 

अबको एक हप्तामा नयाँ कन्सलटेन्टसँग बर्ता भएर सम्झौता नै गर्ने तयारी भएको उहाँको भनाइ छ । यस्तै, सम्झौतापश्चात् कस्तो प्रकृतिको अण्डरपास निर्माण गर्ने भन्ने र लागत कति लाग्छ यकिन हुने बज्राचार्यले बताउनुभयो । सोहीअनुसार यो अण्डरपास सडकको लागत बारेमा पनि डिजाइन तयार भएपछि नै थाहा हुने उहाँको भनाइ छ । 

बज्राचार्यले भन्नुभयो, ‘यो अण्डरपास सडकको लागत कति र यसको प्रकृति कस्तो हुने भन्ने कुरा डिजाइन पश्चात् नै थाहा हुन्छ । अहिले नै कस्तो हुने र कति लागत लाग्छ भन्न सकिँदैन ।’ उहाँका अनुसार डिजाइनका लागि १८ महिनाको समय दिइनेछ । 

डिजाइन पूरा भएपछि सो डिजाइन हेरेर प्रतिक्रियापछि दुई साता फाइनल डिजाइनका लागि समय दिइने उहाँले बताउनुभयो । तर डिजाइन पूरा गर्न नै तीन महिना लाग्ने उहाँले बताउनुभयो ।  

नयाँ बानेश्वरमा बन्ने अण्डरपास सडक बागमती नदीको आसपास पर्ने गरी निर्माण गर्ने तयारीका साथ यसको सर्भे भइरहेको बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बानेश्वरमा बन्ने अण्डरपास सडक बागमती नदीको छेउछाउ हुने गरी निर्माण गर्ने योजना छ । यसको सर्भे पनि यही प्रक्रियाबाट हुन्छ ।’ 

नयाँ बानेश्वरमा बन्ने अण्डरपास सडक बागमती नदीको आसपास पर्नेगरी निर्माण गर्ने तयारीका साथ यसको सर्भे भइरहेको बज्राचार्यले बताउनुभयो ।

बानेश्वरमा रहेको ट्राफिक व्यवस्थापनका लागि यो अण्डरपास निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । चालू आर्थिक वर्षमा सरकारले यसको डिजाइन सक्न ३० लाख रुपियाँ मात्र छुट्याइएको छ । डिजाइन सकेपछि निर्माणका लागि छुट्टै कम्पनीलाई ठेक्का लगाइने पनि उहाँले बताउनुभयो । 

बानेश्वरमा बन्ने अण्डरपास कलङ्कीमा हाल रहेको अण्डरपास सडकको मोडेलकै हुने बज्राचार्यको भनाइ छ । यो वर्ष सर्भे सकेर डिजाइन तयार गर्ने र आगामी वर्षदेखि यसको निर्माणकार्य सुरु गर्ने सडक विभागको योजना रहेको छ । कोटेश्वरमा बन्ने भनिएको अण्डरपास कस्तो बनाउने भन्ने अहिलेसम्म निश्चित भइनसकेको उहाँको भनाइ छ । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।