• १६ भदौ २०८१, आइतबार

भेडा मर्न थालेपछि समस्यामा किसान

blog

बेनी,  कात्तिक   २० गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन् । दुई महिनादेखि भेडाले घाँस नखाने, च्यापु सुनिनेलगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान यामबहादुर छन्त्यालले बताउनुभयो । 

दुई महिनामा किसान छन्त्यालका २४ भेडा मरेका छन् । साना पाठापाठीदेखि ठूला भेडाखसी मरेर क्षति पुगेको छन्त्यालले बताउनुभयो । ठाडाखानीमा पूर्णबहादुर छन्त्यालले समेत १७ भेडा मरेका बताउनुभयो । यहाँका करिब तीन दर्जन बढी घरमा परम्परागत रूपमा भेडापालन हुँदै आएको छ । 

भेडापालनको पकेट क्षेत्रका रूपमा यहाँ सिद्ध भेडापालन र मालिका भेडापालन दुई समूहमा आबद्ध भएर भेडापालन गरिँदै आएको छ । भेडा मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत पशु चिकित्सकको टोलीगोठमै पुगेर भेडाबाख्राको स्वास्थ्य जाँच तथा रगतको नमुना सङ्कलन गरेको छ । 

कार्यालय प्रमुख जीवन आचार्यका अनुसार, भेडामा आन्तरिक र बाह्य परजीवीको सङ्क्रमणका कारण भेडा मरेको बताउनुभयो । उहाँले उपचारका लागि आवश्यक औषधि खरिद गर्न गाउँपालिकालाई आग्रह गरिएको बताउनुभयो । “खोरमा भेडापालन भएकाले एउटै ठाउँमा सधैँ राखिरहने र खोरको उचित व्यवस्थापन नहुँदा किर्ना, जुकालगायतको समस्या बढी हुने गर्छ, किसानलाई खोरको सरसफाइ र भेडाको उचित हेरविचार गर्न सुझाएका छौँ”, उहाँले भन्नुभयो । 

भेडापालक किसानको सुविधाका लागि गाउँपालिकाले डिपिङ ट्याङ्कीसमेत निर्माण गरेको तर, त्यसको प्रयोग नगरेका कारण भेडामा रोगको सङ्क्रमण देखिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । उपचारका लागि पशु चिकित्सकले दिएको रिपोर्टअनुसार आवश्यक पर्ने खोपलगायतका औषधि खरिद गर्ने तयारी गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।