बग्दै बग्दै
जीवनको सुदूर हिमालबाट
बेँसी, टार र पहाडका चाक्ला फाँटहरूमा
आइपुगेको हो पसिनाको गन्ध
वनफूलझैँ
इतिहासको गर्तमा
उसै मगमगाएको हैन
देशको भूगोल ।
बहँदै बहँदै
विचारका सुदूर खोँचबाट
सुनाउन समयका क्रन्दन
आइपुगेका हुन् यी वतास
मलाई लाग्छ
पुर्खाकै हुनुपर्छ अन्तिम प्राण
हर झोँक्कामा
दगुर्दैछ बोकेर देशको शान ।
तर,
अफसोच
म भने बाँचेर देशमा
फेर्दैछु श्वास परदेशमा
साँचेर पसिना स्वदेशमा
सिंच्दैछु मरभूमि परदेशमा ।
अब त कोही
मेरै काँधमा राख्देउ
एकैछिन देशको जुवा
म बोक्नेछु
युगको नयाँ अभिभारा ।
मलाई देऊ
एकैछिन भरोसाको अनौ
म निकाल्नेछु
फालीझैँ नभाँची
वर्षौंदेखि अड्केका
देशका माधुर्य सपना
मिसिन देऊ
माटोमा हरेक बुँद पसिना
र, ठड्याउन देऊ
युगको नयाँ धरहरा ।