परदेश गयौ नेपाल छोडेरै वृद्धाश्रमझैँ भयो यता
परदेशी भयौ खुसी रोजेरै जन्मभूमि बाँझो भो यता
गाउँका घर गोठ सबै छन् रित्तै रित्तै पँधेरा पाखा
बाआमा दुःखी मनै उनका रित्ता रित्तै उनका काखा ।
घरआँगन वृद्ध वृद्धाले भरियो बाँझो सबै खेतबारी
स्याहार गर्न वृद्ध मातापिताको छैन कोही रखवारी
अशक्तै भए बाआमा जसै मालीबिनाको फूलबारी
वृद्धाश्रमझैँ भो देश तिमी भुल्यौ उतै सबै माया मारी ।
वृद्ध बालकझैँ भए मातापिता कुमालेको चक्र यो
मातृऋण तिर्ने बेला भो यता बुवा ढल्ने बेला भयो
बूढापाका र वृद्धको आश्रय थलो भो तिम्रो जन्मघर
वृद्ध भयो बुद्धि बल सबै गयो तिम्रै लौरोको छ भर ।