एउटा मानिसको घरमा आगलागी भयो र धेरै धन सम्पत्ति जलेर नष्ट भयो। संयोगवश घरका मानिसलाई केही भएन। त्यो देखेर गाउँलेले सहानुभूति व्यक्त गरे। घरका मानिसले सहानुभूतिलाई स्वीकार गरे, तुरुन्तै अरू केही प्रतिक्रिया दिएनन्। बरु भोलिपल्ट गाउँलेलाई बोलाएर मिठाई बाँडे। गाउँले अचम्मित भए – “त्यत्रो सम्पत्ति जलेर खरानी भएको छ, उल्टै केको खुसियालीमा मिठाई बाँडेका होलान्।” घर मालिकले भने – “हो घर जलेर सम्पत्ति नष्ट भएको छ, तर संयोगवश हाम्रो जीवन त सुरक्षा भयो। यस अर्थमा हामी धेरै खुसी छौँ।” उनीहरूको त्यस्तो सकारात्मक सोच सबैका लागि प्रेरणा थियो।
जिन्दगीको परिभाषा हो– “यहाँ फूल पनि छन् र काँडा पनि छन्, हाँसो छ र आँसु पनि छन्, उकाली छन् र ओराली पनि छन्।” जीवनका घटना, परिदृश्य सामान्यतया उस्तै उस्तै नै हुन्छन्। भावना वा सोचले ती घटनाका भोगाइ र तिनबाट उत्पन्न हुने अनुभूतिलाई भने धेरै फरक पारिदिन्छन्। उही र उस्तै घटनाले कसैलाई ज्यादै पीडा अनुभव हुन्छ, अनि उही र उस्तै घटनालाई कसैले सहज रूपमा लिन्छन्। यही यथार्थलाई बुझी नबुझी हामी जीवनका पाइला उचालिरहेका हुन्छौँ। त्यसैले सोच जीवनको मूल हो। यो सकारात्मक भयो भने जीवन ऊर्जामय हुन्छ र नकारात्मक भयो भने आलस्यमय।
जीवतìव चेतनाको योग हो। चेतना जति क्षीण हुँदै जान्छ मानिस त्यसै अनुपातमा कमजोर हुँदै जान्छ। चेतना भावनात्मक गहिराइमा हुन्छ। मनोगत विचारका तरङ्गहरूले हाम्रो सोचमा प्रभाव पार्छन्। नकारात्मक विचार प्रवाहमा हाम्रो संवेग तीव्र हुन्छ। संवेग तीव्र हुनुलाई मानव मनोविज्ञानले संवेग विचलन भन्छ। यतिबेला शरीरको हर्मन उत्पादनमा असन्तुलन आउँछ र परिणामतः रगत विषाक्त बन्न पुग्छ। जसका कारण शरीरका यावत् क्रियाकलाप विकृत बन्न पुग्छन्। कुनै अवस्थाप्रति धेरै दुःखी र चिन्तित नभई त्यसलाई सम्यक् बनाउनु सकारात्मक सोच हो। “यत् भावो तद् भवति” अर्थात् आफूले जे सोचिन्छ, जेमा विश्वास गरिन्छ त्यो हुन्छ। त्यसैले असल सोचियो, भने नतिजा असल हुन्छ र जीवन सफल बन्दै जान्छ अनि खराब सोचियो भने नतिजा खराब नै हुन्छ र जीवन असफल बन्दै जान्छ।
अमेरिकाको स्ट्यान्डफोर्ड युनिभर्सिटीको एक अध्ययनले भन्छ – “मानिसको सफलता ८८ प्रतिशत उसको सकारात्मक सोच र १२ प्रतिशत शिक्षाको परिणाम हो।” क्रियाविहीन सोच मात्र सफलताको कारण भने अवश्य होइन किनभने सफलताको मूलभूत रहस्य ९९ प्रतिशत परिश्रम र एक प्रतिशत प्रेरणामा हुन्छ भनिन्छ।
सकारात्मक सोचले मष्तिस्कमा सकारात्मक ऊर्जाकै प्रवाह गर्छ। अनि मानिस पूर्ण सक्रियताका साथ असल काम गर्छ, त्यसलाई निरन्तरता दिइरहन्छ अनि सफल हुन्छ। बिजुली बल्बका आविष्कारक थोमस एल्भा एडिसन “हुन्छ, सकिन्छ, अवश्य सकिन्छ” भन्ने सकारात्मक सोच र निरन्तर अभ्यासको उदाहरण हुन्, जसले नौ सय उनान्सय पटकसम्म असफल हुँदा पनि हरेस खाएनन् र अन्त्यमा सफल भएरै छाडे, किनभने उनीसँग सकारात्मक सोचको दिव्य दृष्टि थियो। उनी हरेक परीक्षणमा केही न केही प्रतिशत सफल भएको थाहा पाइरहन्थे र उत्साहित भइरहन्थे। एडिसनको यो सन्दर्भले हामी सबैको मनमा एउटा प्रश्न खडा गरिदिन्छ– आरम्भ गरेको कुनै राम्रो काममा असफल हुँदा हामीले कति पटक धैर्यसाथ त्यसलाई दोहा¥याऔँ त ? अर्को एक पटक, पाँच पटक वा सोभन्दा बढी।
सोच, विचार मस्तिष्कबाट निस्कन्छन्। मानिसको मस्तिष्क एक जटिल र रहस्यपूर्ण अङ्ग हो। हामीले गर्ने सबै काम मस्तिष्कले नै गराउँछ। तारामण्डलमा रहेका ताराको सङ्ख्याभन्दा बढी न्युरोन (कोषिका) हरू हाम्रो मस्तिष्कमा हुन्छन् भनिन्छ। यी न्युरोन निरन्तर सिर्जना भइरहेका हुन्छन् र जीवनकालभरि परिवर्तन पनि भइरहन्छन्। त्यसैले मस्तिष्क सम्भावनाले पूर्ण छ।
मानव शरीरको सबैभन्दा सूक्ष्मतम कार्यात्मक एकाइ जीवकोषको अधिकतम आयु तीन महिना हुन्छ भनिन्छ। यस अर्थमा हामी प्रत्येक तीन महिनामा पूर्ण रूपमा अर्कै या नयाँ मानव भइरहन्छौँ। हाम्रो मस्तिष्कमा हुने स्मृतिले मात्र हामीलाई म त पुरानै फलानो (रामबहादुर, श्यामकुमारी आदि) पो हो त भन्ने बनाइरहन्छ। स्मृति बनाइरहने मस्तिष्क, स्नायु भने निरन्तर परिवर्तित छन्। यसर्थ हामीसँग निरन्तर परिवर्तन हुने अद्भूत क्षमता छ। सकारात्मक सोच राख्दा हामीमा ऊर्जा थपिन्छ र जीवनमा सफलता पाउन सकिन्छ भने निराशा र नकारात्मक सोच मस्तिष्कमा किन राख्ने ?
योग, व्यायाम गर्दा, स्वस्थ गुणस्तरीय खाना खाँदा, पर्याप्त आराम गर्दा वा निद्रा लिँदा, प्रसन्न भाव राख्दा, असल मानिसको सङ्गत गर्दा, राम्रा पुस्तक पढ्दा, प्राकृतिक सुन्दरताले भरिपूर्ण रमाइला स्थानको भ्रमण गर्दा मस्तिष्कमा ऊर्जा भरिइरहन्छ। त्यसैले हामीले यस्ता काम गरिरहनुपर्छ। यस्ता कामले हाम्रो भावनात्मक बुद्धि÷क्षमता (एमोसनल इन्टिलिजेन्सी) बढाउँछ र जुनसुकै परिस्थितिमा पनि विवेकसम्मत तरिकाले काम गर्न सक्षम बनाउँछ।
सकारात्मक सोच जन्मसँगै आउने हो कि, आफ्नै अभ्यासबाट बनाउने कुरा हो ? यस बारेमा धेरैका आ–आफ्नै तर्क वितर्क छन्। तर धेरै यो कुरामा सहमत छन् कि– “सोच परिवर्तनशील छ।” मस्तिष्क परिवर्तन भइरहने हुनाले सोच पनि परिवर्तन भइरहन्छन् र तिनले हाम्रो बोली तथा व्यवहारमा परिवर्तन ल्याउँछन् रे जीवनलाई सफलतातिर डोहो¥याउँछन्।
विश्व बजारमा लाखौँप्रति बिक्री भएको पुस्तक “द पावर अफ पोजेटिभ थिङ्किङ” का लेखक नर्मन मिन्सिटले सकारात्मक सोचका लागि मानिसले गर्नुपर्ने केही मुख्य कार्यको उल्लेख गरेका छन्। उनी भन्दछन् – “आशावादी हुनु, आफूमा बलियो विश्वास राख्नु, भगवान्को प्रार्थना र ध्यान गर्नु, असल मानिसको सङ्गत गर्नु, भगवान् र प्रकृतिप्रति कृतज्ञ हुनु, चिन्ता र तनावलाई मनमा नराख्नुजस्ता कार्यहरूले मानिसमा सकारात्मक विचारको सिर्जना हुन्छ।” सकारात्मक सोचकै बारेमा भगवान् बुद्ध भन्दछन् – “हामीलाई हाम्रा विचारले आकार दिएको हुन्छ। हामी जस्तो सोच्दछौँ त्यस्तै बन्छौँ। जब दिमाग शुद्ध हुन्छ, तब खुसीले हामीलाई कहिल्यै छोड्दैन।”
नकारात्मक सोचले शरीरमा रोगको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) लाई कमजोर बनाउँछ। त्यसैले तनावमा भएका व्यक्ति रोगसँग लड्न सक्दैनन्। अमेरिकाको विन्किन्सन विश्वविद्यालयका मनोविज्ञान विषयका प्राध्यापक डा.रिचार्ज डेभिडसनले ५७ देखि ६० वर्षका ५२ जना महिला सहभागीमध्ये केहीलाई आफ्ना जीवनका खुसीका (सकारात्मक) क्षण सोच्न÷सम्झन र लेख्न लगाए भने केहीलाई आफ्ना जीवनका दुःखका (नकारात्मक) क्षण सोच्न/सम्झन र लेख्न लगाए। त्यसपछि ती सबैलाई फ्लु (चिसो मौसममा भाइरसबाट सर्ने रोग) को भ्याक्सिन दिए। छ महिना पछि जाँच गर्दा नकारात्मक कुरा सोच्ने र लेख्ने सहभागीको रोग प्रतिरक्षा प्रणालीको तह कमजोर र सकारात्मक कुरा सोच्ने, लेख्नेको बलियो देखियो। यसबाट सकारात्मक सोच स्वस्थ र सफल जीवनका लागि अति आवश्यक रहेछ भन्ने पुष्टि भयो।
अहिलेको युग विज्ञान र प्रविधिको युग हो। विद्युत्, यातायात, सञ्चार आदिको तीव्र विकासले संसारलाई एक अर्थमा साँघुरो बनाइदिएको छ। भौतिक सम्पन्नता र सुख सुविधा यो समयका विशेषता हुन्। कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टिलिजेन्सी) अर्थात् मानिसले झैँ काम गर्ने कम्प्युटरबाट सञ्चालित प्रणालीले कतिपय कुरालाई सजिलो बनाइदिएको त छ तर तिनका कारणले मानिसका अन्तरनिहित क्षमता छायामा परेका वा अलि सुषुप्त भएका जस्ता देखिएका छन्। आदेश दिएको काम मात्र मान्ने कृत्रिम बौद्धिकताबाट कुनै निश्चित कार्य सम्पन्न गर्न सजिलो भए पनि त्यसबाट स्नेह, सद्भाव र आन्तरिक शान्तिको अनुभूति गर्न सकिँदैन। त्यसैले मानिसमा सिर्जना भएका विभिन्न किसिमका तनावको व्यवस्थापन गर्न वास्तविक शान्तिको अनुभव गर्न मस्तिष्कमा सकारात्मक सोचको विकास गर्नु जरुरी छ। सकारात्मक सोचले नै जीवनलाई स्वस्थ, व्यस्त र मस्त बनाउँछ।
यही नै सफल, सार्थक र शान्तिपूर्ण जीवनको एक मात्र उपाय हो। अब हामी पनि सकारात्मक सोचको अभ्यासलाई अवलम्बन गरौँ, यसलाई बढाऔँ। सब्ब भवतु मङ्गलम् – सबैको जय होस्, मङ्गल होस्।