• १३ साउन २०८१, आइतबार

विद्यार्थीका सिर्जनात्मक कला प्रदर्शनी

blog

काठमाडौँ, कात्तिक १८ गते । स्कुल बिदा तथा फुर्सदको समय सिर्जनात्मक कर्ममा सदुपयोग गर्न प्रेरित गर्ने ‘योङ पिकासो’ले स्कुलका विद्यार्थीका सिर्जनात्मक कलाको प्रदर्शनी आयोजना गरेको छ। पाटन सङ्ग्रहालयमा बुधबार आयोजित कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धर र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ‘इसेन्स अफ कलर’ शीर्षकमा ६ स्कुलका विद्यार्थीको उत्कृष्ट सन्देशसहितको कला प्रदर्शनी संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। 

कलाकार मानन्धरले नारी शक्तिको कला कोरेर बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि अवसर र मञ्च प्रदान गर्ने योङ पिकासोको लक्ष्यको प्रशंसा गर्नुभयो। त्यसैगरी काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले नेपालभाषाको रञ्जना लिपिबाट नेपाल लेख्नुभएको थियो। पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले योङ पिकासो र सहयात्राको संयुक्त पहलमा आयोजित कला प्रदर्शनीका अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। 

कार्यक्रममा योङ पिकासो संस्थाका निर्देशक अजय देसारले सङ्घर्ष नगरी उपलब्धि हासिल हुन्न भन्दै योङ पिकासोले ग्रामीण जनजीवन, सो क्षेत्रका स्कुल तथा सहरी क्षेत्रमा बिदाको सदुपयोग सिर्जनामै गर्ने अवसर प्रदान गर्दै आएको बताउनुभयो। चारदिने प्रदर्शनीमा आदर्श विद्या सदन, हिमालयन ह्वाइट हाउस, सिद्धार्थ विद्यापीठ, क्षितिज, कौटिल्य ग्लोबल स्कुल र ब्लुबर्ड स्कुलका ३० विद्यार्थीका विविध सन्देशयुक्त चित्र राखिएका छन्।