• १३ साउन २०८१, आइतबार

मधेशका पन्ध्र क्षेत्रमा महिला उम्मेदवार शून्य

blog

धीरेन्द्रप्रसाद साह 

जनकपुर, कात्तिक १८ गते । मधेश प्रदेशको प्रतिनिधि सभा सदस्यको १५ वटा निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवारी नै छैन। मधेश प्रदेशका छवटा जिल्लाका १५ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवारी शून्य रहेको निर्वाचन आयोगले जनाएको छ। 

यहाँ आठवटा जिल्लामा ३२ वटा प्रतिनिधि सभा र ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन्। प्रत्येक जिल्लामा चार/चारवटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र छन्। 

पर्सा जिल्लाका सबै क्षेत्रमा महिला उम्मेदवारी शून्य छ। पर्साको क्षेत्र १ मा २१, २ मा ११, ३ मा ११ र ४ मा १० जना उम्मेदवार छन्। ती सबै पुरुष उम्मेदवार मात्र हुन्। 

सप्तरीको क्षेत्र नं. ३ मा १८ जना पुरुष उम्मेदवार मात्र छन्। रौतहटको क्षेत्र नं. २ र ३ मा पनि महिला उम्मेदवारविहीन छन्। क्षेत्र नं. २ मा १३ र ३ मा १९ जना पुरुष मात्र उम्मेदवार रहेका निर्वाचन आयोगले जनाएको छ। महोत्तरीको २ र ४ मा पनि महिला उम्मेदवार छैनन्। त्यहाँको २ मा १७ र ४ मा १४ जना पुरुष उम्मेदवार छन्। सिरहा र सर्लाहीका सबै क्षेत्रमा महिला उम्मेदवार छन्। 

धनुषाको १, २ र ४ मा महिला उम्मेदवार नभएको आयोगले जनाएको छ। क्षेत्र नं. १ मा २५, २ मा १६ र ४ मा २९ जना पुरुष उम्मेदवार मात्र छन्। यसैगरी बारा क्षेत्र नं. १ मा १७, २ मा २२ र ४ मा २० जना पुरुष उम्मेदवार छन् तर महिला छैनन्। 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनसहित विभिन्न दलले ती क्षेत्रमा उम्मेदवारी दिएका छन्। धेरै सङ्ख्यामा स्वतन्त्र उम्मेदवार पनि छन्। महिला स्वतन्त्र उम्मेदवार पनि बनेका छैनन्।