• १३ साउन २०८१, आइतबार

प्रचार सामग्रीले कुरूप बनाइँदै जानकी मन्दिर

blog

लक्ष्मी चौधरी 

जनकपुरधाम, कात्तिक १८ गते । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरलाई प्रचारप्रसारका सामग्री टाँस्ने स्थलका रूपमा प्रयोग गरिएको छ। जनकपुर सफा बनाउने नारा बोकेका राजनीतिक दल तथा उम्मेदवार नै जानकी मन्दिर कुरूप र फोहोर बनाउन लागेका छन्। 

गत स्थानीय तहको निर्वाचनका बेला पनि जानकी मन्दिर घेरिएको पर्खालका भित्ता दल र उम्मेदवारका प्रचारप्रसारका पोस्टरले रङ्गिएका थिए। सरसफाइ अभियन्ताहरू जानकी मन्दिरलगायत जनकपुरधामलाई सफा बनाउन तल्लीन छन्। चुनाव जित्ने होडबाजीले दल र उम्मेदवारले जथाभावी चुनाव प्रचारप्रसार सामग्री टाँसिरहेका छन्। निर्वाचन आचारसंहिताविपरीत सडक छेउछाउका पोल, पर्खाललगायत धार्मिक आस्थासँग जोडिएका स्थलमा समेत प्रचारप्रसार गरिए पनि प्रशासन मौन छ।  

निर्वाचान आचारसंहिताअनुसार कसैको घरजग्गा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सडकका सार्वजनिक पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न पाइँदैन। राजनीतिक दल र उम्मेदवारहरूले यसको उल्लङ्घन गरिरहेका छन्। 

जानकी मन्दिरका महन्थका उत्तराधिकारी रामरोसन दास वैष्णवले भन्नुभयो, “धार्मिकबाहेक कुनै पनि कार्यक्रम जानकी मन्दिरमा गर्न पाइँदैन।” जानकी मन्दिरको पर्खालमा टाँसिएको पोस्टरका बारेमा  प्रशासनले कडाइ गर्नुपर्ने हो। प्रहरी प्रशासनको आँखा छलेर पोस्टर टाँस्ने गरेको उहाँको भनाइ छ। पटक–पटक सर्वदलीय बैठक बसेर मन्दिर सफा राख्ने विषयमा छलफल गरे पनि बेवास्ता गर्ने गरिएको उहाँले बताउनुभयो। 

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जथाभाबी टाँसिएका पोस्टर हटाइने बताउनुभयो। आचारसंहिताविपरीत कुनै काम गर्न नपाउने उहाँको भनाइ छ।  

आचारसंहिता अनुगमन अधिकृत वीरेन्द्रकुमार मिश्रले अनुगमन समितिको बैठकको निर्णयअनुसार काम गर्ने बताउनुभयो। यो विषयमा आयोगलाई जानकारीसमेत दिने अनुगमन अधिकृत मिश्रले भन्नुभयो।