गुठी संस्थानले कात्तिक १७ गते स्थापनाको ५९ औँ वर्ष पार गरेको छ। नेपाली समाजको सभ्यता र परम्पराको आधार स्तम्भको रूपमा रहेको गुठी प्रथाको संरक्षण एवं संवद्र्धन गर्नका लागि हाम्रा पूर्वजहरूले मठ मन्दिर, धर्मशाला, पाटी–पौवा आदि स्थापना गरी सोसँग सम्बन्धित जात्रा पर्व एवं नित्य नैमित्य पूजा सञ्चालन गर्न तथा अन्य परोपकारी कार्य सञ्चालन गर्न छुट्याइ राखिदिएका चल अचल सम्पत्ति नै गुठी हुन्। गुठी कला, संस्कृति, परम्परा र धर्मको समग्र रूप हो, राष्ट्रको पहिचान हो, जीवन पद्धति पनि हो।
नेपालमा गुठी व्यवस्थाको इतिहास पुरानो छ। लिच्छविकालदेखि सुरु भएको गुठी व्यवस्थाले हालसम्म निरन्तरता पाइआएको छ। साबिकमा लालमोहर, ताम्रपत्र, दानपत्र, सनद लिखत परम्पराको आधारमा गुठीको व्यवस्थापन हुँदै आएकोमा नेपालको संविधान, २०१९ ले गुठीलाई सरकारी कोषबाट अलग गरेकाले वि.सं. २०२१ मा गुठी संस्थान ऐन जारी भई कानुनी रूपमा राजगुठीको सञ्चालन र व्यवस्थापन गुठी संस्थानबाट भई आएको छ। गुठी संस्थान ऐन २०३३ को प्रस्तावनामा ‘नेपालको संविधानको धारा ५९ ले गुठी रकमलाई सरकारी कोषबाट अलग गरेकोले राजगुठीलाई नेपाल सरकारको अधीनबाट झिकी एक संस्थानको जिम्मा सुम्पी राजगुठीहरूलाई सुव्यवस्थित रूपले सञ्चालन गराउन गुठी संस्थानको स्थापना भएकोमा, विभिन्न वर्गका जनताका बीच सुसम्बन्ध कायम राख्ने र सर्वसाधारण जनताको आर्थिक हित र नैतिकता कायम राख्ने उद्देश्यले गुठी संस्थानसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गरी बढी प्रभावकारी र सामयिक व्यवस्था गर्न वाञ्छनीय भएको’ उल्लेख गरिएको छ।
नेपालको संविधानको धारा २६ मा प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिकस्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक, धार्मिकस्थल तथा धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्न तथा गुठी सम्पत्ति तथा जग्गाको व्यवस्थापनका लागि कानुन बनाई नियमित गर्न सकिने व्यवस्था रहेको, धारा २९० मा गुठीको मूलभूत मान्यतामा प्रतिकूल असर नपर्ने गरी गुठी जग्गामा भोगाधिकार भइरहेका किसान एवं गुठीको अधिकारको सम्बन्धमा सङ्घीय संसद्ले आवश्यक कानुन बनाउनेछ र गुठीसम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुनेछ भन्ने व्यवस्था गरिएको छ। त्यसैगरी, धारा ११६ ले गुठी रकमलाई सरकारी कोषबाट अलग गरेको छ। संविधानको मर्म र भावनाअनुरूप गुठी ऐन निर्माण गरी सोबमोजिम सञ्चालन र व्यवस्थापन गर्नुपर्ने अवस्था छ। यसतर्फ राज्यको समयमा नै ध्यान जानु अपरिहार्य भएको छ।
गुठी व्यवस्था
गुठी व्यवस्थामा मूलतः तीन प्रमुख पक्षहरू छन्। तीमध्ये गुठीको स्थापना गर्ने दाता एवं संस्थापक जसले आफ्नो स्वामित्व वा भोगमा रहेका चल/अचल सम्पत्तिहरू गुठी राखी धर्म संस्कृतिको जगेर्ना गर्नका लागि प्रमुख भूमिका खेलेका छन्। पवित्र भावना राखी दाताबाट अर्पण गरिएका यस्ता सम्पत्ति नै गुठी सञ्चालनको मुख्य आधार स्तम्भ हो। यसरी पुर्खाले राखिदिएका सम्पत्तिको संरक्षण, सञ्चालन, व्यवस्थापन एवं परिचालन गर्ने कार्य गुठी सञ्चालकले गर्दछन्। गुठी संस्थान ऐन, २०३३ ले गुठी सञ्चालकलाई काम, कर्तव्य एवं अधिकार तोकिदिएको छ। सोही ऐनको परिधिभित्र रही गुठी सञ्चालकले गुठीको सञ्चालन एवं व्यवस्थापन गर्ने गर्दछन्। यसरी दाता÷संस्थापकले राखिदिएको र गुठी सञ्चालकले सञ्चालन एवं व्यवस्थापन गरिआएका गुठीबाट व्यक्ति, समुदाय, समाज र समग्र राष्ट्रले लाभ लिइरहेका हुन्छन्, जसलाई हितग्राही भनिन्छ। सारमा भन्नुपर्दा गुठी व्यवस्थालाई एउटा आँपको रुखसँग तुलना गर्न सकिन्छ। जसमा आँपको सिङ्गो रुखको रूपमा दाता/संस्थापकलाई लिन सकिन्छ भने गुठी सञ्चालकले उक्त रुखमा मल, पानीसहित आवश्यक हेरचाह गर्ने भूमिका निर्वाह गर्दछन्। यसरी मल, पानी र आवश्यक हेरचाह पाएर उक्त रुखमा फलेको आँपबाट लाभ पाउने वर्गलाई हितग्राही भनिन्छ, जसले गुठी सञ्चालकलाई आवश्यक सहयोग उपलब्ध गराउने गर्दछन्। यी तीन पक्षहरूमध्ये कुनै एक पक्षको अभावमा समग्र गुठी प्रणाली वा चक्रले काम गर्न सक्दैन। प्रकृतिको हिसाबले राजगुठी र निजी गुठी गरी दुई प्रकारका गुठीहरू प्रचलनमा रहेका छन्। साबिकदेखि नेपाल सरकारले सञ्चालन गर्दै आएको गुठीलाई सरकारी गुठी वा राजगुठी भनिन्छ भने निजी वा पारिवारिक प्रयोजनका लागि राखिएको गुठीलाई निजी गुठी भनिन्छ। निजी गुठीको सञ्चालन निजी तबरबाट हुँदै आएको छ भने राजगुठीको संरक्षण एवं व्यवस्थापनको जिम्मा गुठी संस्थानलाई तोकी प्रचलित गुठी संस्थान ऐनबमोजिम भई आएको छ।
सम्पदा संरक्षण
गुठी संस्थानको प्रमुख दायित्व राजगुठीअन्तर्गतका जात्रा, पर्व एवं धार्मिक, सांस्कृतिक कार्यहरू सञ्चालन र गुठी जग्गाको व्यवस्थापन गर्नु हो। मूर्त र अमूर्त संस्कृतिको सञ्चालन र व्यवस्थापन गुठी संस्थानले गर्ने गर्दछ। यी सम्पदा हाम्रो राष्ट्रको पहिचान हुन्। यसको सही ढङ्गले व्यवस्थापन हुन नसके त्यस्ता सम्पदाहरू लोप भएर जाने सम्भावना रहन्छ। मूलबाट जस्तो पानी बग्छ, त्यस्तै नदी हुन्छ। गुठी संस्थानले प्रभावकारी ढङ्गले काम गर्न सकेमा सम्पदाहरूको उचित व्यवस्थापन हुन जान्छ अन्यथा समग्र गुठी धर्म, संस्कृति लोप भएर जाने खतरा रहिरहन्छ। तसर्थ, गुठी व्यवस्थापन सजगतापूर्वक सम्पदाहरूको संरक्षण र व्यवस्थापनमा लागिरहनु पर्दछ। देशभर छरिएर रहेका हजारौँ सङ्ख्याका सम्पदाहरूको सम्पूर्ण भार वहन गर्न गुठी संस्थान एक्लै सक्षम नभएको हुँदा सम्पदा संरक्षणमा आर्थिक, भौतिक तथा समन्वयकारी भूमिका तिनै तहका सरकारबाट समेत हुन जरुरी छ। यसरी गुठी व्यवस्थाको निरन्तरतामा तिनै तहका सरकारको प्रतिबद्धता र गुठी संस्थानको सक्रियताले मात्र देशको समग्र आर्थिक, सामाजिक रूपान्तरणमा योगदान पु-याउने कुरामा दुईमत हुन सक्दैन।
नेपाली संस्कृति र सभ्यताको निधिको रूपमा रहेका हाम्रा ऐतिहासिक तथा धार्मिक स्मारकहरू, पुरातात्त्विक स्थलहरू, कलात्मक तथा पुरातात्त्विक वस्तुहरू, धार्मिक नाँच, जात्रा, रीतिरिवाज तथा पर्वहरू सबैको संरक्षण गर्नु आजको मूल आवश्यकता हो। हाम्रो देशको भौतिक तथा सांस्कृतिक सम्पदाको रूपमा रहेका वास्तुकला, मूर्तिकला ऐतिहासिक वस्तुहरू, स्मारकहरू, निजी ऐतिहासिक घर भवनहरू तथा अभिलेखहरूले तत्कालीन जीवनशैली र संस्कृतिको परिचय दिएको हुन्छ। जसले गर्दा सांस्कृतिक जीवन्तता कायम राखेको हुन्छ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रको रूपमा विश्वमा नै सुपरिचित छ। हाम्रा समृद्ध मूर्त र अमूर्त सम्पदाहरू राष्ट्रिय एकता सबलीकरण गर्ने माध्यमका रूपमा रहेका छन्। परम्परागत संस्कृतिको जगेर्ना गरी भाषा र संस्कृतिको मौलिकतालाई अक्षुण्ण राख्दै ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षणमार्फत विविधतामा एकता नेपाली समाजको विशेषता भन्ने तथ्यलाई आत्मसात् गरी राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन संस्थानले अहम् भूमिका खेलेको छ।
नेपालको धर्म र प्रथाको पर्यायवाचीको रूपमा रहेको गुठी व्यवस्था शताब्दीयौँदेखि नेपाली जनजीवनमा राष्ट्रको मूल धर्म र यसभित्र अन्योन्याश्रित संस्कृतिका आधारहरूलाई जीवन्त राखी युगौँयुगान्तरसम्म कायम गराउने क्षमता राख्ने व्यवस्था हो। समाजको हित हुने काममा समर्पित बन्न गुठीले दिएको प्रेरणा सर्वकालीन महìवको र अनुकरणीय छ। नेपालमा समाजसेवाको अभियानको थालनी गुठी व्यवस्थाबाट भएको पाइन्छ। समाज उपयोगी कतिपय कार्य गर्न वा गरेर गुठी राखिएका पाइन्छन्। पातलो बस्ती, यातायातको कुनै साधन नभएको बेला पट्यारलाग्दो बाटोघाटोहरूमा पाटी पौवा सत्तल धर्मशाला बनाउनु, पानीको अभाव भएको ठाउँमा पिउने पानीको बन्दोबस्त गर्नु, खोलानाला तर्न साँघु–पुल बनाउनु सामाजिक सेवाको एउटा अनुक्रम हो। जसलाई गुठी संस्थानले निरन्तरता एवं व्यवस्थित पार्दै आएको छ। धार्मिक, सांस्कृतिक परम्परा, मूल्य र मान्यताहरू जोगाउन गुठी संस्थानले दिएको योगदान सदासर्वदा महत्वपूर्ण छ।
लेखक गुठी संस्थानका प्रवक्ता एवं कानुन अधिकृत हुनुहुन्छ।