गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २४ गते । विमानस्थलमा चरा र वन्यजन्तुको बढ्दो गतिविधिका कारण हवाई सुरक्षामा चुनौती र जटिलता बढाएको छ । निजी वायु सेवा कम्पनी बुद्ध एयरका अनुसार पछिल्ला दिनमा चरा तथा जङ्गली जनावरको विमानस्थलआसपासमा गतिविधि बढ्दा हवाई सुरक्षामा बढ्दो जोखिमसँगै जहाज ग्राउन्डेड हुनेक्रमसमेत बढेको छ ।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले भन्नुभयो, “आन्तरिक विमानस्थलका धावनमार्ग क्षेत्रमा स–साना चरा जहाजमा ठोक्किँदा जहाज ग्राउन्डेड हुने गरेका छन् । उक्त समस्या जनकपुर विमानस्थलमा सबैभन्दा बढी देखिन्छ । असार २९ देखि साउन २१ गतेको अवधिमा जनकपुर विमानस्थलमा मात्रै छ पटकभन्दा बढी चरा ठोक्किएका छन् भने दुई पटक रनवेमा स्याल देखिएको छ ।”
गत मङ्गलबार र बुधबार जनकपुर विमानस्थलको धावनमार्गमा रात्रिकालीन उडानक्रममा जहाजमा चरा ठोक्किँदा बुद्ध एयरको एक जहाजको बायाँ इन्जिनको प्रोपेलरै क्षतिग्रस्त भएको उहाँले जानकारी दिनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वर्षायाममा विमानस्थलभित्र लामो घाँस तथा झाडी पलाउने र विमानस्थलका धावनमार्गमा निस्कने कीरा, फट्याङ्ग्रा टिप्न आउने चराचुरुङ्गीका कारण विमानस्थलवरिपरि वन्यजन्तु र चराचुरुङ्गीको गतिविधि बढ्ने गरेको छ । प्राधिकरणले उडान सुरक्षामा पर्ने जोखिम न्यूनीकरण गर्न विमानस्थलमा चरा र वन्यजन्तु धपाउन ‘बर्ड स्क्यानिङ मेसिन’ र सिकारी परिचालन गर्दै आएको छ ।”
प्राधिकरणका अनुसार पक्षी र जनावरको समस्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, जनकपुर, चन्द्रगढी, भैरहवा, विराटनगर र नेपालगन्जमा धेरै हुने गरेका छन् ।
प्राधिकरणको नेपाल एभिएसन सेफ्टी अनुसार नेपालमा सामान्यतया जहाजले अवतरण र उडान गर्दा वन्यजन्तुको बढी सामना गर्नु परेको देखिन्छ । चरासँग भने टेकअफ, ल्यान्डिङ र अप्रोच तीन वटै बेला जोखिमको सामना गर्नु पर्छ ।