• २३ साउन २०८२, शुक्रबार

अझै आणविक हतियारको त्रासदी

blog

द्वितीय विश्व युद्धको अन्त्यताका सन् १९४५ मा विश्वको सबैभन्दा शक्तिशाली र विध्वंसकारी हतियारमध्ये एक मानिएको परमाणु बमको विकास र परीक्षणको प्रक्रिया तीव्र रूपमा अगाडि बढिरहेको अवस्थामा अमेरिकाले आफ्नो परमाणु शक्ति प्रयोग गरी जापानलाई युद्ध अन्त्य गर्न बाध्य बनाएको दिन थिए, अगस्त ६ र ९ । सन् १९४५ अगस्त ६ मा अमेरिकाले हिरोसिमामा ‘लिटिल ब्वाई’ नामक परमाणु बम प्रहार गर्दा लगभग ७० हजार मानिसको मृत्यु भयो । हजारौँ जापानी जलेर गम्भीर घाइते भए । अमेरिकाले खसालेको यो बमले हिरोसिमालाई तहसनहस बनायो र विश्वलाई पहिलो पटक यस्तो विध्वंसकारी शक्ति देखाइदियो । त्यसको तीन दिनपछि अगस्त ९ मा पुनः ‘फ्याटम्यान’ नामक परमाणु बम नागासाकी सहरमा खसाल्यो र लगभग ४० हजार निर्दोश नागरिकको ज्यान लियो भने लाखौँ मानिस विकिरण र घाइतेको समस्या भोग्न बाध्य भए । यो घटनाले विश्वमा परमाणु शस्त्रको भयानकता र यसको विनाशकारी शक्ति उजागर ग¥यो । त्यस समयमा घाइते भएका केही हिवाकुसा अहिले पनि जापानी अस्पतालको शय्यामा छटपटाइरहेका छन् । विकिरणको कारण मानव स्वास्थ्यमा परेको प्रभावबारे संसारका मानव समुदाय जानकार छन् ।

आजसम्म पनि त्यो त्रासदीपूर्ण घटनाले संसारलाई सताइरहेको छ । मानव इतिहासमा कहालीलाग्दो यस्तो घटना र परमाणु शस्त्रको प्रयोगबारे बहस चलिरहने गरेको छ । त्यही त्रासदी पुनः नदोहोरियोस् भनेर जापानलगायत विश्वका विभिन्न राष्ट्रले शान्ति र परमाणु निरस्त्रीकरणका लागि प्रयास गरिरहेका छन् । यस्तो मानव त्रासदी युक्रेनमा रसियाले गरेको आधुनिक हतियार प्रयोगसँगै आणविक हतियार प्रयोग हुने डरले विश्वलाई एक पटक त्रसित बनाएको थियो । आणविक हतियारको प्रयोगले जापानको हिरोसिमा र नागासाकीमा पु¥याएको क्षतिको इतिहास हेर्दा आणविक हतियारको कारण संसारका मानव समुदाय त्रसित हुनु स्वाभाविकै हो ।

कुनै देशले मनपरी आणविक हतियार प्रयोग गर्लान् र संसारमा मानिसको अस्तित्व सङ्कटमा पर्ला भनेर संयुक्त राष्ट्रसङ्घले सन् २०१७ सेप्टेम्बर २० मा आणविक हतियार निषेध महासन्धि हस्ताक्षरका लागि खोलेको थियो । जसमा पाँच आणविक हतियार सम्पन्न राष्ट्रसहित नेपाललगायत कुल १९१ राष्ट्रले हस्ताक्षर गरिसकेका छन् । यस महासन्धिमा ५० देशले प्रमाणीकरण गरेपछि आन्तर्राष्ट्रिय रूपमा मान्यता पाउने प्रावधान अनुसार सन् २०२१ जनवरी २२ देखि यस महासन्धिले मान्यता पाइसकेको छ । 

आणविक हतियारको प्रयोग, ओसारपसार, उत्पादन तथा भण्डारणमा बन्देज भए पनि संयुक्त राष्ट्रसङ्घमा भिटो शक्ति प्रयोग गरेर विभिन्न प्रस्ताव विफल पारे झैँ शक्ति राष्ट्रहरूले संयुक्त राष्ट्रसङ्घमा आफ्नो शक्ति प्रयोग गरिरहेका छन् । यसको उदाहरण विगतमा मानव अधिकार हनन् हुने गरी संयुक्त राष्ट्रसङ्घकै आडमा विभिन्न देशमा भएका हमलालाई लिन सकिन्छ तर टिपिएनडब्लु महासन्धिले आन्तर्राष्ट्रिय रूपमा मान्यता पाइसकेको अवस्थामा तुरुन्तै आणविक हतियार प्रयोग हुन सक्ने अवस्था नहोला भन्ने हो तर खतरामुक्त छौँ भन्ने होइन । 

आणविक हतियारसम्बन्धी अध्ययन गर्ने संस्था स्टकलम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) का अनुसार अहिले भण्डारण गरिएको आणविक हतियारले विश्वलाई ३० औँ पटक ध्वस्त पार्न सक्छ । त्यसैले पनि सन् १९४५ अगस्त ६ र ९ ले संसारका मानवजातिलाई झस्काइरहेको छ । सिप्रीका अनुसार अमेरिका र रुसमा मात्र ९० प्रतिशत आणविक हतियार रहेको अनुमान छ । कुल आणविक हतियार क्षमताको आधारमा रुसमा ४७.७ प्रतिशत, अमेरिकामा ४२.३ प्रतिशत, चीनमा २.६७ प्रतिशत, फ्रान्समा २.११ प्रतिशत, बेलायतमा १.७१ प्रतिशत, पाकिस्तान १.२६ प्रतिशत, भारत १.२२ प्रतिशत, इजरायल ०.६९ प्रतिशत र उत्तर कोरियामा ०.३४ प्रतिशत आणविक हतियार रहेको विभिन्न अनुसन्धानबाट अनुमानित तथ्याङ्क सार्वजनिक हुँदै आएको छ । विभिन्न अध्ययन अनुसार रुसमा विभिन्न प्रकारका लगभग एक हजार ७६० आणविक हतियार प्रयोग गर्न नमिल्ने अवस्थामा पुग्दै छन् या भनौँ उसकै भाषामा रिटायर्ड हुँदैछन् भने अन्य देशमा पनि आणविक हतियारको आयु सकिने अवस्थामा छन् । ठुलो लगानीमा तयार हुने आणविक हतियार भण्डारण सुरक्षाको चुनौती पनि छ । भण्डारण स्थलबाट चुहावट भएमा त्यसले ठुलो क्षति गर्न सक्ने हुँदा आणविक शक्ति सम्पन्न राष्ट्रहरूको दम्भ उचित छैन । 

यस्ता प्रकारका विनाशकारी हतियार प्रयोग भए मानव समुदायका लागि दुर्भाग्य हुन सक्छ । आणविक हतियार प्रयोग गर्न सक्ने इसाराको कारण हिजोको समयमा अमेरिकाले इरान, इराक, लिबिया, हाइटी, अफगानिस्तान तथा अन्य देशमाथि गरेको सैन्य कारबाहीभन्दा मध्यपूर्व र एसियामा केही समयअघि भएका सामरिक शक्ति प्रयोग मानव सभ्यताको अन्त्योन्मुख हुने आकलन गर्दै फरक ढङ्गले अध्ययन गर्न जरुरी छ । सामरिक हतियार प्रयोगमा हुने होडबाजीले संसारका शक्ति राष्ट्रहरूको धु्रवीकरण हुँदै गएको अनुभव गर्न सकिन्छ । सन् २०२२ को फरबरी २३ मा ह्वाइट हाउसले ‘सारा विश्वको प्रार्थना युक्रेनका जनताका लागि छ, किनकि उनीहरूले रुसी सैन्य बलहरूद्वारा अप्रत्याशित र अनुचित आक्रमणको सामना गरिरहेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले एक पूर्वनियोजित युद्ध छनोट गरेका छन् जसले जीवनको विनाशकारी क्षति र मानव पीडा ल्याएको छ, यसको जिम्मेवार रुस एक्लै छ’ भनेको थियो तर अमेरिकाले इरानमाथि हमला गर्दा त्यस्ता कुरा हेक्का राखेन । त्यसैले आणविक शक्ति सम्पन्न राष्ट्रले संयुक्त राष्ट्रसङ्घको आणविक हतियार निषेध महासन्धि पालना गर्लान् र मानव समुदायमाथिको सङ्कट ट¥यो भन्ने धारणा राख्नु उचित नहुन सक्छ । युक्रेन र रुसबिच जारी युद्धमा हजारौँको सङ्ख्यामा गैरसैनिक नागरिक र सैनिकको मृत्यु भइसकेको छ । युक्रेनले नेटोको सदस्य हुने चाहना गर्नु घातक साबित भएको छ । अहिले युक्रेन आफ्नो भौगोलिक अवस्थाको कारण र शक्तिशाली छिमेकी रुस तथा नेटो समूहसँगको मित्रवत् सम्बन्धले समस्यामा छ । 

नेपालको वरिपरि चीन, भारत, पाकिस्तान आणविक हतियार भण्डारणयुक्त देश भएकाले नेपालको आकाशमा खतराको बादल सधैँ रहिरहने गरेको छ । आणविक भण्डारण विश्वका मानवहरूको स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकारमाथिको हस्तक्षेपको रूपमा लिन सकिन्छ । नेपाल जस्ता आणविक हतियार नभएका देशहरू अहिले पश्चिमा र रुसबिचको शक्ति प्रदर्शन गर्ने स्थानको रूपमा युक्रेनको अवस्था विकास भइरहेको जस्तो अवस्था आउन सक्छ । आणविक उत्पादन एवं भण्डारण अहिले संसारभर पेचिलो बन्दै गएको छ । संसार युद्धले हैन संवाद र मित्रताले जित्न सकिन्छ । नेपाल जस्ता सामरिक शक्तिहिन देशहरूले सधैँ आणविक शक्ति देशहरूसँग त्रसित हुनुपर्ने अवस्था रहिरहेको छ । विभिन्न समयमा संसारभर भएका घटना हेर्दा मानवको स्वान्त्र रूपमा बाँच्न पाउने अधिकारभन्दा पनि हिजोको डाइनोसर लोप भए जस्तो आजको होमो जातिको आधुनिक मानव अन्त्य नहोस् भन्ने हो । अहिले पनि आणविक त्रासदीले संसारका मानव समुदायलाई सताइरहेको छ । भोलिका दिनहरूमा हिरोसिमा तथा नागासाकिको अवस्था आउन नदिन आणविक शक्तिसम्पन्न देशले संसारका मानवलाई प्रत्याभूति दिनु पर्छ ।