अर्जुन कार्की
काठेखोला (बागलुङ), साउन २३ गते । युवाहरु विदेश पलायन र कृषि जनशक्तिको अभावले बागलुङमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ । बागलुङमा कुल खेतीयोग्य जमिन २५ प्रतिशत रहेपनि हालसम्म १७ प्रतिशत जमिनमा मात्र खेती गरिएको छ ।
कृषि ज्ञान केन्द्र बागलुङको तथ्याङ्क अनुसार बागलुङको कुल खेतीयोग्य जमिनमध्ये १५ हजार ६ सय ४५ हेक्टर जमिन बाँझो छ । बागलुङको एक लाख ७८ हजार चार सय ६ हेक्टर जमिनमा ४६ हजार एक सय ४८ हेक्टर जमिनमा खाद्यन्न उत्पादन गर्न सकिने ज्ञान केन्द्रका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले बताउनुभयो ।
“बागलुङको एक लाख ७८ हजार चार सय हेक्टर जमिनमा ४६ हजार एक सय ४८ हेक्टर जमिन खेतीयोग्य छ,” अधिकारीले भन्नुभयो, “हाल ३० हजार पाँच सय तीन हेक्टर जमिनमा खाद्यान्न उत्पादन हुने गरेको छ ।” बागलुङको १४ हजार ६ सय २५ हेक्टर जमिन बाँझो रहेको र एक हजार २० हेक्टर जमिन प्लटिङ् गरेर राखिएको अधिकृत अधिकारीको भनाइ छ ।
अधिकृत अधिकारीका अनुसार बागलुङबाट युवाहरु वैदेशिक रोजगारीमा जाने र गाउँमा वृद्धा भएका आमाबाबु मात्र हुने गरेकाले खाद्यन्न उत्पादनमा कमी आएको छ । “युवाहरु रोजगारीको सिलसिलामा विदेश जाने र गाउँमा रहेका बुहारीहरु पनि शहर पस्ने चलन बढ्दो छ । युवाहरु विदेश जाँदा गाउँमा रहेका वृद्धवृद्धाहरुले काम गर्न नसक्नुले जमिन बाँझो रहन पुगेको हो” उहाँले भन्नुभयो ।
बागलुङमा कुल खेती हुने जमिनको २० प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । अधिकारीका अनुसार खेती गरिएको जमिनमध्ये ६ हजार एक सय ५६ हेक्टर जमिनमा सिंचित सुविधा पुगेको हो । बागलुङमा दुई हजार सात सय ७६ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ हुने गरेको छ । यस्तै तीन हजार तीन सय ८० हेक्टर जमिनमा मौसमी सिँचाइ छ भने २४ हजार तीन सय ४७ हेक्टर जमिनमा सिँचाइ नपुगेको अधिकारीले बताउनुभयो ।
जिल्लामा अहिले एक लाख एक हजार ५१ मेट्रिकटन खाद्यान्न उत्पादन हुने गरेको छ । जिल्ला उत्पादन हुने मुख्य खाद्यान्न भनेको मकै, गहुँ, कोदो, धान हो भने फलफूल तथा अन्य खेती हुँदै आएको छ ।