• १२ असोज २०८१, शनिबार

आचारसंहिताविपरीत प्रचार गरेकोमा उजुरी

blog

इलाम समाचारदाता

इलाम, कात्तिक १६ गते । आगामी निर्वाचनका लागि आचारसंहिताविपरीत कार्य गरेको भन्दै इलाममा १५ वटा उजुरी परेका छन्। 

निर्वाचन अनुगमन अधिकृत भूमिराज भुसालले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमा प्रचार गरेको तथा प्रतिक्रिया गरेकोमा छवटा, निर्वाचनमा प्रभाव पार्ने तथा धार्मिक सहिष्णुता खलल गर्ने गरी प्रचार–प्रसार तथा प्रकाशन गरेकोमा तीनवटा सञ्चारमाध्यमविरुद्ध उजुरी परेको जानकारी दिनुभयो। 

उहाँका अनुसार जनप्रतिनिधि र कर्मचारी निर्वाचन प्रचारप्रसारमा लागेको भन्दै चारवटा लिखित उजुरी परेको छ। त्यसबाहेक फोनमा पनि मौखिक उजुरी आउने गरेको छ। उहाँले उजुरी परेकोमध्ये एक जनालाई कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेको र अन्यमा पनि मौखिक रूपमा सचेत गराएको बताउनुभयो। 

“लिखित उजुरी परेकामा सम्बन्धित व्यक्ति र दललाई सम्झाउने, आचारसंहिताविपरीत गरेकोमा कारण सोध्ने र कारबाही नै गर्न नपरोस् भनेर सचेत गराउने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “त्यसरी उजुरी परेर सचेत गराइएकाबाट पुनः निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको सूचना आएको छैन।” यता निर्वाचन प्रचारमा लागेका कर्मचारीलाई पनि सम्बन्धित पालिकाका प्रशासकीय अधिकृतलाई निर्वाचनमा नलाग्न र सचेत गराउन भनिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटाइने कर्मचारी व्यवस्थापनको कार्य गरिरहेको छ। कार्यालयका सूचना अधिकारी फणीन्द्र भट्टराईका अनुसार निर्वाचनमा खटिइने मतदान अधिकृत, सहायक मतदान अधिकृतको टुङ्गो लगाइ सकिएको छ। “अब अन्य कर्मचारीको व्यवस्थापन हुन बाँकी छ। एक मतदान केन्द्रमा कार्यालय सहयोगीसहित आठ जना कर्मचारी रहनेछन्,” उहाँले भन्नुभयो।