• ७ पुस २०८१, आइतबार

वीर गणेशमान टेनिस र १० किमी रोड रेस हुने

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, कात्तिक १४ गते । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले टेनिस र १० किमी रोड रेस खेलकुद प्रतियोगिता आयोजना गर्नेभएको छ । कमिटिले सोमबार पत्रकार सम्मेलन गरी दुई खेलको राष्ट्रिय प्रतियोगिताबारे जानकारी दिएको हो ।

कमिटिले दोस्रो संस्करणको टेनिस कात्तिक १९ देखि २६ गतेसम्म सातदाेबाटाे स्थित टेनिस कोर्टमा सञ्चालन गर्नेछ । यस्तै रोड रेस आगामी पुस २३ गते गरिने गणेशमान सिंह फाउन्डेसनका सदस्य भाष्कारमान सिंहले जानकारी दिनुभयो ।

टेनिसमा जुनियरदेखि सिनियरसम्मको स्पर्धा समावेश गरिएको छ । जसमा महिला/पुरुष विजेताले ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार रुपियाँ पुरस्कार पाउनेछ । महिला/पुरुष डबल्स र पुरुष ३५ वर्षमाथिको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेलेले १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । 

पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले क्रमशः २५ हजार, १५ हजार र ५ हजार रुपियाँ तथा पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्षतीनले क्रमशः ३० हजार, १५ हजार र पाँच हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

कूल ३२ लाख रुपियाँ लगानीमा सम्पन्न हुने प्रतियोगितामा अन्य स्पर्धाका विजेतालाई पनि आकर्षक नगद पुरस्कार प्रदान गरिने गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधरले जानकारी दिनुभयो ।

उहाँले कमिटिले बक्सिङ, टेनिस र रोड रेप प्रतियोगिता गरिरहेको जानकारी दिँदै आगामी दिनमा अन्य खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने बताउनुभयो । टेनिसमा देशभरबाट तीन सय २० खेलाडीको सहभागिता रहने बताइएको छ ।