बेइजिङ, कात्तिक ११ गते । चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनवार्ता भएको छ । उहाँहरूका बीचमा बिहीबार फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
हालैमात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई बधाई सन्देश पठाउनुभएको थियो । चिनियाँ राष्ट्रपति चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव चयन हुनुभएकामा सो बधाई सन्देश पठाउनुभएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ नेसनल कंग्रेसबाट चिनियाँ राष्ट्रपति चिनफिङ सो पार्टीको महासचिवमा पुनः चयन हुनुभएको हो । सो वार्ताका क्रममा विदेशमन्त्री लाभरोभले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा चयन हुनुभएकामा राष्ट्रपति चिनिफिङ तथा सो पार्टीको पोलिटब्युरो सदस्यमा चयन हुनुभएकामा विदेशमन्त्री वाङलाई बधाई दिनुभएको थियो ।
त्यस क्रममा विदेशमन्त्री वाङले चीन र रुसबीचको सम्बन्धलाई थप बलियो र गाढा बनाउनेतर्फ आगामी दिनमा चीन लाग्ने बताउनुभएको थियो । फोनवार्ताका क्रममा उहाँहरूका बीचमा दुई देशबीचको आपसी हित र सम्बन्धको साझेदारीका विभिन्न विषयमा पनि कुराकानी भएको बताइएको छ । रासस/सिन्ह्वा