• १३ साउन २०८१, आइतबार

तनहुँमा जिपलाइन र स्काइ रोप साइक्लिङ

blog

फायल तस्बिर

दमौली,  कात्तिक  १० गते  तनहुँ जिल्लामै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो । 

सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काइ रोप साइक्लिङ थप गरेको हो । जिपलाइन तयार भएर सञ्चालनमा आएको र स्काइ रोप साइक्लिङ कात्तिक महिनाभित्रै निर्माण सम्पन्न हुने रिसोर्टका सञ्चालक विवेक सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मादी नदी वारपार गर्ने गरी पाँच सय मिटरको जिपलाइन सञ्चालनमा ल्याएका हौँ । जुन परेवाडाँडाबाट चिन्तुटारसम्म पुग्ने व्यवस्था गरिएको छ ।” उहाँका अनुसार ९० फिट हाइटमा एक सय मिटरको स्काइ रोप साइक्लिङको परीक्षण कार्य भइरहेको छ ।     

जिपलाइनका लागि रु एक हजार पाँच सय र स्काइ रोप साइक्लिङ ९दुईतर्फी०का लागि रु एक हजार शुल्क तोकिएको छ । रिसोर्टले जिपलाइन र स्काइ रोप साइक्लिङका लागि मात्र रु एक करोड २५ लाख बजेट छुट्टाएको सापकोटाले बताउनुभयो ।         

रिसोर्ट दमौलीबाट पाँच किलोमिटर उत्तर परेवाडाँडामा अवस्थित छ । दश रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टको हाल चार रोपनीमा संरचना बनेका छन् । यस्तै आगामी दुई वर्षमा लक्जरी रुम, स्विमिङ पुल, चिल्ड्रेन फनपार्कलगायतका संरचनासमेत थप्ने योजना रहेको सापकोटाले बताउनुभयो ।     

यसबाहेक रिसोर्टमा जाइन्ट स्विङसमेत सञ्चालनमा रहेको छ । उक्त स्विङ दुई वर्ष अगाडिदेखि नै सञ्चालनमा रहेको छ । उहाँका अनुसार ९० केजीसम्मका व्यक्तिले स्विङ खेल्न सक्छन् ।     

नयाँ साहसिक पूर्वाधार थप भएपछि यहाँ पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ । दमौली बजारबाट बागभञ्ज्याङ, बैरेनी, दुम्सी हुँदै परेवाडाँडा पुग्न सकिन्छ ।

लमजुङको मध्यनेपाल, भोर्लेटार, भोटेओडारलगायतका ठाउँ जाने मार्ग पनि यही हो । यसले गर्दा पनि यो ठाउँमा पर्यटकको चहलपहल हुने विश्वास गरिएको सापकोटाले बताउनुभयो ।     

यही ठाउँमा परेवाको मूर्ति निर्माण गरिएको छ । उक्त ठाउँमा बिदा र शनिबारको दिन आन्तरिक पर्यटक टिकटक बनाउन, फोटो खिच्न आउने गरेका छन् ।