अमरराज नहर्की
तनहुँ, फागुन २८ गते । तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित इन्जिनियर श्रीराम न्यौपाने ऊर्जा, जलस्रोत तथा पूर्वाधार विकाससँग प्रत्यक्ष रूपमा जोडिएका अनुभवी अभियन्ताका रूपमा परिचित हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय ऊर्जा विभाग प्रमुखसमेत रहनुभएका उहाँलाई आगामी मन्त्रिपरिषदमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको सम्भावित दाबेदारका रूपमा समेत हेरिएको छ ।
तनहुँको भानु नगरपालिका–५ सेपाबगैचामा जन्मनुभएका न्यौपानेले इन्जिनियरिङ पृष्ठभूमिबाट आफ्नो व्यावसायिक जीवन सुरु गर्नुभएको हो । ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका उहाँले विभिन्न राष्ट्रिय गौरवका आयोजनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ ।
न्यौपानेले मेलम्ची खानेपानी आयोजनाको अम्बाथान खण्ड, नागढुङ्गा सुरुङमार्ग निर्माणलगायत महत्त्वपूर्ण परियोजनामा काम गर्नुभएको थियो । नेपालकै पहिलो सबस्टेसनसहित सबै संरचना भूमिगत रहेको जलविद्युत् आयोजनामा आयोजना निर्देशकको जिम्मेवारी सम्हाल्दै करिब १५ किलोमिटर सुरुङ निर्माणमा उहाँले नेतृत्व प्रदान गर्नुभएको अनुभव छ ।
शिक्षा र प्रविधि विस्तारमा पनि उहाँको योगदान उल्लेखनीय मानिन्छ । २०६२/०६३ को जनआन्दोलनपछि गठन भएको संविधानसभाका ६०१ सदस्यका लागि निःशुल्क इन्टरनेट र इमेल तालिम कार्यक्रम सञ्चालनमा उहाँको भूमिका थियो । त्यसैगरी सरकारी विद्यालयका शिक्षकलाई निःशुल्क कम्प्युटर तालिम तथा कम्प्युटर वितरण कार्यक्रममार्फत सूचना प्रविधिको पहुँच विस्तारमा योगदान दिनुभएको थियो ।
बालबालिकाको नेतृत्व विकासका लागि देशभरका ७५ वटै जिल्लाबाट प्रतिनिधि बालबालिका सहभागी गराई तत्कालीन प्रधानमन्त्रीसँग प्रत्यक्ष अन्तक्र्रिया कार्यक्रम सञ्चालन गराउने कार्यमा पनि उहाँ सक्रिय रहनुभएको थियो । त्यसबाहेक तनहुँसहित देशभरका इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्ति उपलब्ध गराउँदै दुई हजारभन्दा बढी इन्जिनियर उत्पादनमा सहयोग पु¥याउनुभएको थियो ।
इन्जिनियरिङ शिक्षाको विस्तारका लागि दुई वटा इन्जिनियरिङ कलेज स्थापना प्रक्रियामा उहाँले महत्त्वपूर्ण योगदान गर्नुभएको छ । ऊर्जा नीति निर्माण तथा अनुसन्धानका क्षेत्रमा पनि उहाँ सक्रिय रहँदै आउनुभएको छ । विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन, अनुसन्धान तथा लेख–रचना र अन्तर्वार्तामार्फत ऊर्जा र पूर्वाधार विकासबारे आफ्ना धारणा सार्वजनिक गर्दै आउनुभएको छ । यस क्रममा उहाँले दर्जनौँ देशको भ्रमण गर्नुभएको छ ।
न्यौपानेले विद्यार्थी जीवनदेखि नै विभिन्न संस्थागत निर्वाचनमा सक्रिय सहभागिता जनाउनुभएको छ । पञ्चायती व्यवस्थामा स्वतन्त्र विद्यार्थी युनियन, संवैधानिक व्यवस्थामा नेपाल इन्जिनियर्स एसोसिएसन तथा गणतान्त्रिक व्यवस्थामा नेपाल इन्जिनियरिङ काउन्सिलको निर्वाचनमा प्रतिस्पर्धा गरी तीनवटै निर्वाचनमा विजयी हुनुभएको अनुभव उहाँसँग छ । ऊर्जा तथा पूर्वाधार विकासमा योगदानका लागि उहाँलाई राष्ट्रबाट प्रबल जनसेवाश्री चतुर्थ पदकद्वारा विभूषित गरिएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा न्यौपानेले नेपाली काँग्रेसका उम्मेदवार शङ्कर भण्डारीलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको थियो । उहाँले ३२ हजार ६८७ मत प्राप्त गर्दा भण्डारीले १४ हजार १३५ मत प्राप्त गर्नुभएको थियो ।