गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २८ गते । उद्योगबाट निस्कने दूषित वायुका कारण पर्न सक्ने असर कम गर्न विश्व बैङ्कले नेपाललाई करिब सात अर्ब ६० करोड रुपियाँ ऋण उपलब्ध गराउने भएको छ । नेपाल स्वच्छ वायु र समृद्धि परियोजनाका लागि उपलब्ध गराइने उक्त ऋण विश्व बैङ्कको बोर्ड बैठकले स्वीकृत गरेको हो ।
यस परियोजनाले मुख्य रूपमा उद्योगधन्दा एवं व्यावसायिक भवनबाट निस्कने दूषित वायु कम गरेर वायुको गुणस्तर व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो परियोजना वायुप्रदूषणबाट अत्यधिक प्रभावित हुने काठमाडौँ उपत्यका, तराई र आसपासका पहाडीक्षेत्रमा कार्यान्वयन हुने छ ।
“वायुप्रदूषण केवल सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित जोखिम मात्र होइन यो त नेपालका लागि आर्थिक भार पनि हो,” विश्व बैङ्कको माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले भन्नुभयो ।
वायुप्रदूषणका कारण स्वास्थ्य र गुमेको श्रम उत्पादकत्वसमेत जोड्दा नेपालले प्रत्येक वर्ष कुल गार्हस्थ उत्पादनको छ प्रतिशतको अतिरिक्त भार बेहोर्नु परेको उहाँको भनाइ छ ।
यस परियोजनाले हरित र प्रभावशाली प्रविधिको प्रयोगमार्फत व्यवसाय सञ्चालन गर्ने र त्यसमार्फत लाखौँ नेपालीलाई वायुप्रदूषणको जोखिम घटाउन सहयोग पुग्ने सिस्लेनले बताउनुभयो । “यसले सञ्चालन खर्च घटाउने, प्रतिस्पर्धी क्षमता बढाउने र दिगो औद्योगिक वृद्धिलाई सहयोग पुग्ने छ,” उहाँले भन्नुभयो ।
औद्योगिक उत्सर्जन मुलुकको वायुप्रदूषणका लागि सबैभन्दा ठुलो स्रोत बन्न पुगेको पनि विश्व बैङ्कले जनाएको छ । यस परियोजनाले चार सय वटा उद्योग र व्यापारिक संस्थालाई वित्तीय तथा हरित प्रविधि प्रयोगमा सहयोग गर्ने विश्व बैङ्कले जानकारी दिएको छ । यस अन्तर्गत विद्युतीय बोइलरको प्रयोग, आधुनिक बायोमास र अत्याधुनिक उत्सर्जन नियन्त्रण प्रविधि कार्यान्वयन गरिने पनि बैङ्कले उल्लेख गरेको छ । उद्योग विभाग र वातावरण विभागले नेपालका यस परियोजनाको कार्यान्वयन गर्ने छन् । त्यस्तै राष्ट्रिय वाणिज्य बैङ्क हरित प्रविधि वित्तीय सुविधा उपलब्ध गराउने संस्थाका रूपमा रहने छ । यो परियोजनालाई बेलायत र स्विट्जरल्यान्डसमेतको सहयोगमा थप ७३ करोड रुपियाँ अनुदान प्राप्त हुने छ ।