गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २८ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका समसामयिक चित्रकला विभाग र शिल्प–हस्तकला विभागको सहकार्य तथा कोचिन फाइन आर्ट क्लब, भारतको आयोजनामा ‘आइज टु एज’ अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी बुधबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्ध प्राचीन विरासतदेखि नै गहिरो रहेको बताउनुभयो । उहाँले हिमवत्खण्डदेखि नै दुई देशबिच भाइचाराको सम्बन्ध कायम रहेको उल्लेख गर्दै वैदिक कालदेखि नै सांस्कृतिक र कलात्मक सूत्रहरू जोडिँदै आएको र दक्षिण एसियाली कलामा यसको उल्लेखनीय प्रतिविम्ब देखिने बताउनुभयो ।
भारतीय कलाकार मनोज भीले प्रतिष्ठानसँगको सहकार्यमा कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल र भारतबिच परम्परागत रूपमा कला र संस्कृतिका धेरै विषय मिल्दाजुल्दा भएकाले कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । कार्यक्रमका संयोजक एवं प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले प्रदर्शनीले दुई देशको कला, संस्कृतिको आदानप्रदानमा सहयोग पुग्ने बताउनुभयो ।
प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवाले कोचिनसँगको सहकार्यले आगामी दिनमा यस्ता कार्यक्रम सञ्चालन गर्न थप ऊर्जा र प्रेरणा मिलेको बताउनुभयो । नेपाल, भारत र बङ्गलादेशका कलाकारका ३० कलाकृति रहेको यस प्रदर्शनी फागुन ३० गतेसम्म चल्ने छ ।