टीकापुर समाचारदाता
टीकापुर, फागुन २८ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले मेसिनको प्रयोग गर्दे श्रमशक्ति र लागत घटाएर कृषिलाई नयाँ दिशा दिन लागेको बताउनुभएको छ । धान रोप्ने चारपाङ्ग्रे मेसिनको बुधबार कैलालीमा उद्घाटन गर्दै मन्त्री परियारले सो कुरा बताउनुभएको हो ।
“नेपालले ४० वर्षअघि देखेको सपना बल्ल पूरा हुँदै छ,” मन्त्री परियारले भन्नुभयो, “किसानले उपयोग गरेर सुझाव दिएका आधारमा धान रोप्ने मेसिन थप्दै जाने सरकारको नीति छ ।” उहाँले यस वर्ष मलखादको अभाव हुन नदिन सरकार लागिरहेको पनि बताउनुभयो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कैलालीको आयोजनामा जानकी गाउँपालिका–४, कञ्चनपुरमा बीजवृद्धि कृषि सहकारी संस्थाको दुई बिघा जमिनमा मेसिनद्वारा चैते धान रोपाइँ गरिएको हो । चैते धान रोपाइँमा मेसिनको प्रयोग पहिलो पटक भएकाले सङ्घीय मन्त्रीका साथै सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा पनि उपस्थित हुनुहुन्थ्यो । मन्त्री थापाले सुदूरपश्चिम प्रदेश सरकारले एक पालिका दुई उत्पादन ब्लक कार्यक्रम अन्तर्गत यी पालिकामा चैते धानमा अनुदान दिइरहेको र सफल भए तीन वर्षसम्म प्रदेशबाट पनि निरन्तर सहयोग हुने बताउनुभयो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम व्यवस्थापन एकाइ खुमलटारका योजना अधिकृत माधव पौडेलले पहाडमा २५ प्रतिशत र तराईमा ७५ प्रतिशत खेतमा धान रोप्न मेसिनको प्रयोग गर्न मिल्ने भएकाले यसले हालको लागत खर्चमा ३० प्रतिशतले घटाउने बताउनुभयो । पौडेलले प्रतिघण्टा १५ कट्ठा जग्गामा धान रोप्न सक्ने मेसिन सञ्चालन गर्न दुई वर्ष कृषि प्राविधिक र किसानसँगै रहने र चलाउँदा ख्याल गर्नुपर्ने सुझाव दिनुभयो ।
धान रोप्न यस पटक बर्दियामा रहेको मेसिन प्रयोग गरिएको र बीजवृद्धि सहकारीका लागि १६ लाख ५० हजार रुपियाँ मूल्य पर्ने मेसिन खरिद प्रक्रियामा रहेको कार्यालयले जानकारी दिएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अधिकृत रामनारायण चौधरीका अनुसार कैलालीमा करिब एक हजार हेक्टर जमिनमा धान खेती गरिन्छ ।