• २ असार २०८१, आइतबार

व्यवहारमा लागू गर्न नसके दिएको सम्मानको अर्थ रहँदैन : उपप्रमुख डङ्गोल

blog

भक्तपुरमा आयोजित नेपाल संवत् ११४३ को अवसरमा शुभकामना आदानप्रदान समारोहमा बोल्नुहँदै उपप्रमुमख सुनिता डङ्गोल । तस्बिर : केशब गुरुङ

भक्तपुर, कात्तिक ९ गते । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले सरकार र राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार भक्तपुरमा आयोजित नेपाल संवत् ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवम् राष्ट्रिय विभूति शङ्खधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा बोल्नुुहँदै उपप्रमुमख डङ्गोलले सो कुरा बताउनुभएको हो ।

उपप्रमुख डङ्गोलले भन्नुभयो, ‘‘नेपाल संवतको छुट्टै मौलिक महत्त्व र पहिचान छ । संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत् हो नेपाल संवत्  ।जनतालाई ऋण मोचन गरेर, जनतालाई सबैभन्दा प्राथमिकतामा राखेर शुरुवात भएको हाम्रो माटोको, मौलिक नेपाल संवत्  विशेष कार्यक्रम गरेर मनाइरहेका छौँ ।’’ 


  • उहाँले नेपाल सम्वत्को छुट्टै मौलिक महत्त्व र पहिचान रहेको भन्नुहुँदै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । डंगोलले सरकारी कार्यालयहरुमा चलाउने डकुमेण्टहरुमा नेपाल सम्वत् प्रयोग गर्न नसकेसम्म राष्ट्रिय सम्वत्, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने जिकिर गर्नुभयो । उहाँले अहिलेका राजनीतिक दल र नेताहरुले राष्ट्रिय विभूति शंखधर साख्वाबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय विभूतिको रुपमा मान्यता दिइसकेपछि हामीले लिखित रुपमा मात्रै होइन कार्यान्वयन गर्न व्यवहारमा लागू गर्न महत्त्वपूर्ण छ । हामीले चलाउने डकुमेण्टहरुमा जबसम्म नेपाल सम्वत प्रयोग गर्न सक्दैनौँ, तबसम्म यसलाई राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नहुन सक्छ । नेपाल संवत मनाइरहँदा राष्ट्रिय विभूतिबाट सिक्नुपर्ने धेरै पाठ छ । जनतालाई ऋण मोचन गरे झैँ आफू भन्दा माथि जनता भनेर सोच्न जरुरी छ ।’’ उपप्रमुख डंगोलले संसारमा नै नभएको देशको नामबाट एउटै मात्र सम्वत् भनेको नेपाल सम्वत् रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।