• १३ असार २०८१, बिहिबार

उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन

blog

हेमन्त केसी    

जाजरकोट,  कात्तिक ९ गते । प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पु¥याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ । तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन ।     

सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयवासी मर्कामा पर्दै आएका छन् ।     

उपल्लो डोल्पा भौगोलिक हिसाबले निकै विकट क्षेत्र हो । सदरमुकाम दुनैबाट ७ दिनको पैदल दूरीमा पुगिने उपल्लो डोल्पामा जनसङ्ख्या कम भए पनि भूगोल भने ठूलो छ ।     

तीनवटा गाउँपालिका रहेको यस उच्च हिमाली क्षेत्रमा वर्षमा एउटा मात्रै बाली उत्पादन हुन्छ । त्यसैले तीन वटै खाद्यान्न पुर्याउने जिम्मा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाएको छ । कम्पनीले यस क्षेत्रमा खाद्यान्न बिक्री केन्द्रसमेत राखेको छ ।     

मोटर गाडीको पहुँच नभएकाले यी क्षेत्रमा घोडा, खच्चड र चौँरीको सहायताले आवश्यक सामग्री ढुवानी गरिने शे–फोक्सुण्डो गाउँपालिकाकी प्रेमा गुरुङले बताउनुभयो । “यो वर्ष हिमपात सुरु भइसकेको छ, केही समयभित्र नाकाहरु पनि बन्द हुन्छन्,” उहाँले भन्नुभयो, “वर्ष दिनदेखि ठेकेदारहरुले चामल नल्याएका कारण डिपोमा एक दाना चामल पनि छैन ।”    यस क्षेत्रमा चिनियाँ भूभाग हुँदै अनुदानमा प्राप्त हुने आयोडिनयुक्त नुनसमेत पाँच वर्षदेखि आउन नसकेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डोल्पाका प्रमुख प्रकाश धामीले बताउनुभयो ।     

यो वर्ष पनि सदरमुकाम बाहिरका बिक्री केन्द्रमा हवाइमार्गमार्फत आयोडिनयुक्त नुन ढुवानीका लागि भदौ ५ गते बोलपत्र आह्वान गरिए पनि अहिलेसम्म नुन पुग्न सकेको छैन । नेपालगञ्जबाट काइगाउँ बिक्री केन्द्रमा २०० क्विन्टल, सर्मी बिक्री केन्द्रमा २०० क्विन्टल र लिकु बिक्री केन्द्रमा २०० क्विन्टल नुन ढुवानी गर्ने भनी कोटा निर्धारण गरिएको थियो ।