• १३ असार २०८१, बिहिबार

रुपन्देहीको विकास देश विकासको आधार : गृहमन्त्री खाण

blog

भैरहवामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाण । तस्बिर : श्यामशंकर पाण्डे

श्यामशंकर पाण्डे

लुम्बिनी, कत्तिक ८ गते । गृहमन्त्री बालकृष्ण खाणले मुलुकको करिब मध्य भागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशिला खडा गर्ने बताउनुभएको छ । गौतमबद्धको जन्मस्थल लुम्बिनी स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहीयानाका, दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समेत यहाँ भएकाले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र समेत बन्ने उहाँको भनाइ छ । 

नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार समेत रहनुभएका मन्त्री खाणले भैरहवामा आयोजित कार्यक्रममा सो कुरा बताउनुभएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यात्रुबाहकको साथै कार्गो सेन्टरको रूपमा विकास गरेर भैरहवालाई आर्थिक हब बनाउने अवसर पनि रहेको उहाँको भनाइ छ । 

‘खाली यात्रु ल्याउने लैजाने मात्र होइन, गृहमन्त्री खाणले भन्नुभयो– ‘गौतमबुद्ध विमानस्थललाई कार्गो सेन्टरको रूपमा पनि विकास गरी रुपन्देहीलाई आर्थिक केन्द्र बनाउन सकिने अवसर हामीसँग छ । यसतर्फ सरकार लागिरहेको छ ।’ काठमाडौको कालीमाटी फलफूल तथा तरकारी केन्द्रभन्दा ठूलो खालको थोक बजार केन्द्र निर्माण योजना रुपन्देहीको सेमलारमा आएको र सो थोक बजार निर्माण पश्चात् यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तु गौतमबुद्ध विमानस्थल हुँदै विदेश निर्यात गर्न सकिने उहाँले बताउनुभयो । 

विदेशबाट हवाइमार्ग हुँदै ल्याउनुपर्ने मालसामान गौतमबुद्ध विमानस्थल हुँदै ल्याउने र विदेश निर्यात गर्ने सामान पनि यही विमानस्थलबाट पठाउने वातावरण सिर्जना गर्न सके हजारौँ रोजगारीका अवसर खुल्ने उहाँको भनाइ छ । रोजगारीमा यसै क्षेत्रका स्थानीयले प्राथमिकता पाउने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।  

अर्को प्रसङ्गमा उहाँले नेपाली जनतालाई नै नेपालको मालिक बनाउन पाँच दलीय गठबन्धन बनेको दाबी गर्नुभयो । ‘संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्ने काम यही गठबन्धनबाट हुन्छ उहाँले भन्नुभयो– ‘संविधानको पालना गर्दै यहाँभित्र भएका कमीकमजोरी संशोधन गर्न पनि निर्वाचनपछि गठबन्धनकै सरकार आवश्यक छ ।’