• १६ भदौ २०८१, आइतबार

प्लास्टिकका मालाले भरिएको पाल्पा बजार

blog

रेखीराम राना
पाल्पा, कात्तिक ८ गते ।
पाल्पाका बजारमा प्लाष्टिकले बनेका मालाको बिक्री बढेको छ । प्रशासनले प्रतिबन्ध लगाएको प्लास्टिकको माला जिल्ला सदरमुकाम तानसेन, रामपुर, दमकडा, सराइ, हार्थोक, आर्यभङ्ज्याङ् लगायतका बजारमा बिक्री हुँदै आएको छ ।

जिल्लाका अधिकांश बजारमा गोदाबरी, सयपत्री र मखमली फूलका मालाको साटाे कृत्रिम प्लाष्टिकको मालाले भरिएको हो । केही वर्षअघि जिल्लाका केही स्थानमा मात्र प्लास्टिकका कृत्रिम माला देखिन्थ्यो । तर, पछिल्ला वर्षदेखि भारतबाट आएका प्लास्टिकका माला छ्याप्छ्याप्ती देखिने गरेको स्थानीयको भनाइ छ ।

पछिल्लो समय अधिकांश मानिसले घरमा फूल लगाउन (रोप्न) छाडेकाले पनि भारतीय प्लास्टिकका मालाको प्रभाव बढेको तानसेनका स्थानीय बासिन्दा दामोदर घिमिरेले बताउनुभयो । ‘‘पहिले गाउँमा हरेकको घरमा मखमली, गोदावरी र सयपत्री फूल लगाइन्थ्यो ।,’’ उहाँले भन्नुभयो, ‘‘अहिले धेरै मानिस शहरमा बस्ने प्रचलन बढ्यो, यसले प्लास्टिकका माला प्रयोग गर्ने प्रचलन बढेको छ ।’’

यसैगरी, अर्का स्थानीय सचिन उदासले गाउँघरमा पाइने फूलका मालालाई सुरक्षित राख्न असहज हुने भएकाले पनि प्लास्टिकका माला प्रयोगकर्ता बढेको बताउनुहुन्छ । ‘‘मखमली र सयपत्री फूलका माला सुरक्षित राख्न पनि गाह्रो छ ।,’’ उहाँले भन्नुभयो, ‘‘यसको माला सहज रुपमा पाउने अवस्था पनि छैन ।’’

भारतीय नाकाबाट भित्रिएका प्लास्टिकका प्रतिमाला २५–३० रुपियाँदेखि दुई/तीन सय सम्ममा बिक्री हुने गरेको छ । तर, यसले स्वास्थ्यमा पार्ने असरका बारेमा भने प्रयोगकर्ता अनभिज्ञ छन् । प्लाष्टिकको माला देखिँदा आकर्षक भएपनि यसको माला लगाउँदा स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने कतिपयको बुझाइ छ ।

कोरोना महामारीपछि यो वर्ष तिहार पर्व उल्लासपूर्ण भएकाले विगतको तुलनामा यस वर्ष प्लाष्टिकको माला धेरै नै माग भएको तानसेनका स्थानीय माला व्यापारीहरू बताउँछन् । तानसेनका स्थानीय व्यापारी तथा भारतको विभिन्न स्थानबाट आएका व्यापारीले समेत प्लाष्टिकको मालाको बिक्री गर्ने गरेका छन् ।

सरकारले यस वर्षदेखि प्लाष्टिकका माला प्रतिबन्ध गरेको भएता पनि भन्सारमा कडाइ नगर्दा नेपाली बजारमा भारतीय रङ्गीबिरङ्गी मालाहरू छ्यापछ्याप्ती रहेका तानसेनका व्यवसायी जीवन पाण्डेले बताउनुभयो ।

नेपाली पुष्प व्यवसायीहरूलाई सरकारले प्रोत्साहन गर्न नसक्दा र यसको प्रयोगबारे सेवाग्रही सचेत नहुँदा प्लास्टिकका माला बिक्री भइरहको उहाँले बताउनुभयो ।