बुटवल, कात्तिक ७ गते । गृहमन्त्री बालकृष्ण खाणले अब सरकारले नागरिकको अवस्था परिवर्तन गर्न योजना बनाएर अघि बढ्ने बताउनुभएको छ।
नेपाल महिला सङ्घ बुटवल उपमहानगरपालिका १५ ले सोमबार सेमलारमा गरेको कार्यक्रममा लामो सङ्घर्षपछि राजनीतिक व्यवस्था परिवर्तन भए पनि अहिलेसम्म नागरिकको अवस्था परिवर्तन गर्न नसकिएको बताउनुभयो।
अब सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने योजना ल्याउनमा ध्यान केन्द्रित गर्ने बताउनुभएको हो। मङ्सिर ४ गतेको निर्वाचनमा रुपन्देही ३ बाट पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनु भएका गृहमन्त्री खाणले नागरिकको अवस्था परिवर्तन गर्न बलियो सरकार आवश्यक हुने बताउनुभयो। निर्वाचनमा बलियो सरकार बनाउने गरी सिट जित्नका लागि पाँच दलीय गठबन्धन गरिएको उहाँको भनाइ थियो।
कर्णाली, दलित, महिला, जनजाति र मधेसीको हक अधिकारका बारेमा संसद् वकालत गर्न कानुनमै उनीहरूको निश्चित सिट छुट्टाइएकोले संविधानसभाबाट जारी संविधान समावेशीताको हकमा उत्कृष्ट रहेको बताउनुभयो।
कार्यक्रममा विष्णुमाया शर्माको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचनमा महिला परिचालन समिति बनाएको घोषणा गरियो। समितिका पदाधिकारी र सदस्यलाई गृहमन्त्री खाणले निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन क्रियाशील हुन आग्रह गर्नुभयो।