• १९ असोज २०८१, शनिबार

रुपन्देहीका पाँच स्टिल उद्योग बन्द

blog

रुपन्देहीको पडसरीमा रहेको पञ्चकन्या स्टिल उद्योग । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, कात्तिक ७ गते । रुपन्देहीमा सञ्चालित पाँच ठूला स्टिल उद्योग अनिश्चितकालका लागि बन्द भएका छन् । सरकारले स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्तशुल्कमा ल्याएको नीतिका कारण उत्पादन लागत बढ्दै गएपछि उद्योग बन्द गर्नुपरेको उद्योगीहरूको भनाइ छ । 

पाँच उद्योग बन्द हुँदा यसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आश्रित करिब दुई हजार मजदुर बेरोजगार हुने अवस्थामा पुगेका छन् । सरकारले स्पन्ज आयात तथा बिलेट निर्यातमा विभेदकारी नीति ल्याएको बताउँदै उद्योगीहरू लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दैआएका छन् । 

उत्पादन लागत बढेको र बजारमा तुलनात्मक प्रतिस्पर्धा गर्न नसकेपछि रुपन्देहीका पाँच स्टिल उद्योग बन्द भएका हुन् । भारत तथा तेस्रो मुलुकबाट कच्चा ब्लेड आयात गरी स्टिल (छड) बनाउँदै आएका रुपन्देहीको पञ्चकन्या स्टिल, एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल, फेरो स्टिल र गोयन्का स्टिल पूर्णरूपमा बन्द भएका छन् । 

एसआर स्टिल गत साउनदेखि बन्द भएको छ भने एभरेष्ट रोलिङ इन्डस्ट्रिज गत असोज पहिलो सातादेखि बन्द भएको हो । पञ्चकन्याले पनि आफ्नो उत्पादन एक महिना अगाडिदेखि बन्द गरेको जनाएको छ ।

एसआर गु्रपले सञ्चालन गर्दैआएको एसआर स्टिल इन्डस्ट्रिज गत साउनदेखि बन्द भएको छ । दैनिक दुई सय टन टिएमटी स्टिल उत्पादन गर्दैआएको यो उद्योग २०६८ मा स्थापना भएको थियो । एसआर स्टिलका प्रबन्ध निर्देशक इन्जिनियर सुरज उप्रेतीले रहरले नभई बाध्यताले उद्योग बन्द गर्नुपरेको बताउनुभयो । 

एकै प्रकृतिका कच्चावस्तु आयात गर्दा फरक दर साथै कच्चा फलाम (एमएस ब्लेड) को भन्सारविन्दुमै अन्तःशुल्क लगाउन थालेपछि उद्योग सञ्चालन गर्नै नसक्ने अवस्था आउँदा साउन महिनादेखि बन्द गरेको प्रबन्ध निर्देशक उप्रेतीले जानकारी दिनुभयो ।

सरकारले बजेटमा स्पञ्ज आइरन आयात गर्दा शुन्य प्रतिशत तथा ब्लेडमा पाँच प्रतिशत भन्सार शुल्क लिने नीति ल्याएको थियो । एमएस ब्लेड आयातमा भन्सारबिन्दुमै प्रतिकेजी तीन रुपियाँ ५० पैसा अन्तःशुल्क कायम गरेको थियो । स्पञ्ज आइरनमा भने अन्तःशुल्क पूर्ण मिनाहा भएको उद्योगीहरू बताउँछन् । 

एभरेष्ट रोलिङ उद्योगले दैनिक एक सय ५० टन टिएमटी स्टिल उत्पादन गर्दैआएको थियो भने सेक्सन आइटम पनि उत्पादन गरिरहेको थियो । उद्योगीको व्यापक विरोधपछि केही समयअघि सरकारले स्पञ्ज आइरनमा एक प्रतिशत भन्सार महसुल कायम गरेको थियो ।   एमएस ब्लेडको अन्तशुल्क एक रुपियाँ घटाई दुई रुपियाँ ५० पैसा कायम गरेको थियो । सरकारको नीतिका कारण लागत बढ्न गएको, स्पञ्ज आइरनसँग सम्बन्धित उद्योगसँग बिक्री मूल्यमा प्रतिस्पर्धा गर्न नसकिएको पञ्चकन्या समूहअन्तर्गतका उद्योगका महाप्रबन्धक देवेन्द्र साहुले बताउनुभयो । 

उद्योगहरू धमाधम बन्द हुन थालेपछि काम गरिरहेका कामदारहरू चिन्तित भएका छन् । यी पाँच वटै उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कार्यरत करिब दुई हजार कामदार प्रभावित हुने एभरेष्ट रोलिङका प्रबन्ध निर्देशक गोयन्काले बताउनुभयो ।