• १४ असार २०८१, शुक्रबार

अबको ध्यान गरिबी निवारण र रोजगारी सृजनातर्फ : सञ्चारमन्त्री कार्की

blog

सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की । फाइल तस्बिर

काठमाडौं, कात्तिक ७ गते । सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताउनुभएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टी जेसीजले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । उहाँले सुनसरी–४ का साथै देशको समग्र विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाका लागि योजना बनाएर अगाडि बढनेमा जोड दिनुभयो ।

नेपाली कांग्रेससहित लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सुनसरी–४ का उमेदवार रहनुभएका मन्त्री कार्कीले २०७४ सालको निर्वाचनमा आफूले जनतासामु गरेको प्रतिबद्धता धेरैजसो पूरा गरेको जानकारी दिनुभयो । यस क्षेत्रको शिक्षा, स्वास्थ्य, विद्युत, भौतिक निर्माणकार्य पाँच वर्षमा गरेको बताउनुहुँदै अब गरिबी निवारण र रोजगारी सृजनालाई प्राथमिकता दिने उल्लेख गर्नुभयो ।

देशको विकासका लागि पर्यटन, ऊर्जा, उद्योग, कृषिसहित सूचना प्रविधिको समेत महत्पपूर्ण भूमिका हुने भएकाले यससँगै अरु कामलाई अगाडि बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा सूचना प्रविधिको र पेपरलेस प्रविधिकार्य आफ्नै पहलमा हुन लागेको जानकारी दिनुभयो ।

चक्रघट्टी जेसीजले गत साता आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत तनाव व्यवस्थापनका लागि योगाभ्यास, साइबर क्राइमविरुद्ध अन्तर्क्रिया, नेतृत्व र व्यक्तित्व विकासका लागि जेसिज विषयक अन्तर्क्रिया, मैत्रीपूर्ण फुटबल र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको मूल आयोजक समितिका कार्यक्रम संयोजक तेजबहादुर पुरी (सन्तोष)ले बताउनुभयो ।