कपिल ज्ञवाली
सिद्धार्थनगर,कात्तिक ६ गते । नेपाल पत्रकार महासंघ रुपन्देहीले गोरखापत्रका रूपन्देही समाचारदाता कपिल ज्ञवालीसहित जिल्लामा क्रियाशील नौ पत्रकारलाई पुरस्कृत गरेको छ । महासंघ रुपन्देहीले ०७५, ०७६ र ०७७ सालको उत्कृष्ट पत्रकारिता पुरस्कार, उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार र सिद्धार्थ श्रमजीवी पत्रकारिता पुरस्कारबाट तीन–तीन गरी नौ जना पत्रकारलाई ,नगद तथा प्रशंसापत्रसहित पुरस्कृत गरेको हो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको आइतबार बुटवलमा आयोजित वार्षिक साधारणसभामा उत्कृष्ट पत्रकारिता पुरस्कारबाट रेखा भुसाल, यानेन्द्र जिसी र रामप्रसाद आचार्य, उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट कपिल ज्ञवाली, चन्द्रकान्त खनाल, र पूजा पन्थी तथा सिद्धार्थ श्रमजीवी पत्रकारिता पुरस्कारबाट नरेश केसी, प्रकाश न्यौपाने र प्रतीक पौडेललाई सम्मान गरिएको हो ।
नौ जना पत्रकारहरूलाई नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान र बुटवल पब्लिक स्कुलका प्राचार्य हेमलाल शर्माले सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कारको राशि ५० हजार रुपैयाँ, बुटवल पब्लिक स्कुलको आर्थिक सहयोगमा स्थापना गरिएको उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारको राशी १० हजार रुपैया र सिद्धार्थनगर नगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको सिद्धार्थ श्रमजीवी पत्रकारिता पुरस्कारको राशी पाँच हजार रुपैयाँ रहेको महासंघ रुपन्देहीका सचिव विनोद परियारले बताउनुभयो ।
साधारणसभाको उद्घाटन गर्दै महासंघका अध्यक्ष बिपुल पोखरेलले चुनावका बेला पत्रकार अझै बढी सचेत र सजग भएर काम गर्नुपर्ने बताउनुभयो ।