• १२ असार २०८१, बुधबार

भाइमसला आयात आधाले घट्यो

व्यापारी भन्छन् ‘नरिवल, सुपारी र छोकडा छैन’

blog

काठमाडौं, कात्तिक ६ गते । तिहारमा प्रयोग गरिने भाइमसला आयातमा आधाले घटेको छ । गत वर्षको तुलनामा यस वर्ष भाइमसला आयातमा एक अर्ब २७ करोड रुपियाँले घटेको देखिएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा एक अर्ब तीन लाख रुपियाँ बराबरको भाइमसला आयात भएको छ । सो मूल्यमा ५२ लाख केजी भाइमसला आयात भएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षको सोही समयमा दुई अर्ब २७ करोड दुई लाख रुपियाँ बराबरको भाइमसला आयात भएको थियो । सो मूल्यमा एक करोड तीन लाख केजी बराबरको भाइमसला आयात भएको थियो । 

१९ करोडको नरिवल आयात 

चालु आर्थिक वर्षको दुई महिना साउन र भदौमा १९ करोड ४४ लाख रुपियाँको नरिवल आयात भएको छ । उक्त मूल्यमा २८ लाख केजी नरिवल आयात भएको हो । गत आर्थिक वर्षमा सोही समयमा १६ करोड ६० लाख बराबरको नरिवल आयात भएको थियो । 

छोकडा आयात घट्यो 

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा भाइमसलाको रुपमा प्रयोग हुने छोकडाको आयात घटेको छ । साउन र भदौ महिनामा जम्मा पाँच हजारको मात्र छोकडा आयात भएको भन्सार विभागले जनाएको छ । गत वर्ष सोही समयमा छोकडा तीन करोड ७० लाख रुपियाँ बराबरको आयात भएको थियो । 

४१ करोडको सुपारी आयात 

भाइमसलाको रुपमा प्रयोग हुने सुपारीको आयात चालु आर्थिक वर्षमा घटेको छ । चालु आवको पहिलो दुई महिनामा ४१ करोड रुपियाँको सुपारी आयात भएको छ । गत आवको सोही समयमा एक अर्ब ४२ करोड ८१ लाखको सुपारी आयात भएको थियो । 

काजु आयातमा कमी

चालु आर्थिक वर्षमा काजुको आयात केही मात्रामा घटेको छ । चालु आर्थिक वर्षमा २० करोड ९६ लाख रुपियाँ बराबरको काजु आयात भएको छ  । तिहारमा भाइमसलाको रुपमा प्रयोग हुने काजुको आयात गत वर्षको सोही समयमा २० करोड ९६ लाख बराबरको काजु आयात भएको थियो । 

बदाम आयात घट्यो 

चालु आर्थिक वर्षमा बदामको आयात घटेको छ । चालु आर्थिक बर्षको पहिलो दुई महिनामा नौ करोड ९५ लाख बराबरको बदाम आयात भएको छ । गत आर्थिक वर्षको सोही समयमा २२ करोड ७१ लाख  रुपियाँ बराबरको बदाम आयात भएको थियो । 

पाँच करोडको ओखर आयात 

चालु आर्थिक बर्षको पहिलो दुई महिनामा पाँच करोड तीन लाख बराबरको ओखर आयात भएको छ । गत आर्थिक वर्षको सोही समयमा १४ करोड ३५ लाख रुपियाँ बराबरको ओखर आयात भएको थियो । 

किसमिसको आयात घट्यो 

भाइमसलाको रुपमा प्रयोग हुने किसमिसको आयात  आधाले घटेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा तीन करोड ७० लाख रुपियाँ बराबरको किसमिस आयात भएको छ । गत आर्थिक वर्षको सोही समयमा ६ करोड ८० लाख रुपियाँ बराबरको किसमिस आयात भएको थियो । 

तीन लाखको पिस्ता आयात

भाइमसलाको रुपमा प्रयोग हुने पिस्ता तीन लाख ३० हजारको आयात भएको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा सो परिणामको पिस्ता आयात भएको हो । चालु आर्थिक वर्षको सोही समयमा तीन लाख ३४ हजार बराबरको पिस्ता आयत भएको थियो । 

आयातमा कडाइ र माग कम भयो

भन्सार विभागका अनुसार गतवर्षको तुलनामा यस वर्ष भाइमसलाको आयात घट्नुमा माग कम र आयातमा कडाइ हो ।

विभागका निर्देशक रामप्रसाद मैनालीका अनुसार गतवर्ष दुई वर्षदेखि कायम रहेको महामारी मत्थर भएर कम भएर उल्लासपूर्ण समय भएका मागका कारण धेरै थियो । गतसाल सुपारी, छोकडाजन्य वस्तुमा कडाइ पनि थिएन । 

तर यसवर्ष आयातमा भएको कडाइका कारण सुपारीजन्य वस्तुको आयात नै न्यून रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गतवर्ष कोरोना माहामारी कम भएको पहिलो वर्ष भएका कारण माग बढी थियो । जसकारण आयात बढी भएको देखियो । तर, अहिले आयातमा कडाइ र माग नै कम भएको कारण आयातमा कमी भएको हो ।’ 

व्यापार कम छ 

काठमाडौँ मखनगल्लीमा १० वर्ष अघिदेखि भाइमसलाको व्यापार गरिरहेका विकास गुप्ता यस वर्ष भाइमसलाको व्यापार कम भएको बताउनुभयो । भाइमसलाका रुपमा प्रयोग हुने केही बस्तुको आयातमा सरकारले कडाइ गर्दा सामान अभाव भएकाले व्यापार कम भएको हुनसक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भाइमसलाको रुपमा प्रयोग हुने केही वस्तुहरुको आयातमा सरकारले कडाइ गरेको कारण व्यापार कम भएको हुनसक्छ । मानिस सबै प्रकारका भाइमसला खोज्छन् । एउटा छैन भनेपछि केही नकिनी फर्किन्छन् । उहाँका अनुसार अहिले नरिवल, सुपारी र छोकडा बजारमा अभाव छ । 

यस्तै, अर्का व्यापारी विनय रौनियारको भनाइ पनि उही छ । गतवर्ष निकै उत्साहपूर्ण व्यापार भएको बताउनुभएका रौनियार यसपाली व्यापार कम हुँदा अलि मलिन देखिनुभयो । रौनियारले भन्नुभयो, ‘गतवर्ष व्यापार धेरै राम्रो थियो, दैनिक ५० हजारसम्मको भाइमसला बिक्री हुन्थ्यो । तर यसपाली मुस्किलले १५ देखि २० हजारको व्यापार हुन्छ । 

छोकडा, नरिवल र सुपारी अभाव  

भाइमसलाका रुपमा प्रयोग हुने छोकडा, नरिवल र सुपारी अभाव रहेको उपभोक्ताले बताउनुभएको छ । भाइमसला किन्न काठमाडौं मख्खन गल्लीमा आइपुग्नुभएकी सुमित्रा आचार्यले नरिवल, छोकडा र सुपारी नपाएको सुनाउनुभयो । 

यस्तै, गत बर्षभन्दा यसवर्ष भाइमसलाको मूल्य पनि केही बढी भएको उहाँको भनाइ छ । ‘भाइमसलाको रुपमा प्रयोग हुने नरिवल, छोकडा र सुपारीको बजारमा अभाव रहेछ । जहाँ गयो छैन भन्छन् ‘उहाँले भन्नुभयो, ‘गत वर्षभन्दा यसवर्ष अन्य वस्तुको मुल्य पनि केही बढी छ ।’

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।