• ८ मंसिर २०८२, सोमबार

भगवान रामको तिलकोत्सव सम्पन्न

blog

साताव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आयोजित तिल्कोत्सव कार्यक्रममा सहभागीहरु ।

धर्बेन्द्र झा 

जनकपुरधाम, मङ्सिर ७ गते । त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र माता सीताबिच भएको विवाहको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा मनाइने साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आइतबार रामको तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ । 

तिलकोत्सवका लागि जनकपुरधामको जानकी मन्दिरबाट पाहुर (भार) सहित साधु सन्तर र श्रद्धालुहरु बाजागाजासाथ दिउसो राम मन्दिर पुगेका थिए । साधु सन्तलाई राम मन्दिरमा त्यहाँका स्थानीयहरुले स्वागत गरेका थिए । 

प्रत्येक वर्षझै यस वर्ष पनि राम मन्दिरको प्राङ्गनमा स्थानीय महावीर युवा कमिटीले तयार पारेको मञ्चमा तिलकोत्सव कार्यक्रम गरिएको हो । कार्यक्रममा राजा जनकको भूमिकामा जानकी मन्दिरका उत्तराअधिकारी महन्थ राम रोशन दास र भगवान रामको वुवा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरीले भूमिका निर्वाह गर्दै समाधी मिलन गर्नुभएको छ । 

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुँइटेलसहित सुरक्षा निकायका उच्च अधिकारीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, नागरिक समाज, पत्रकार र श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो ।