हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), मङ्सिर ७ गते। हिन्दू तथा बौद्धमार्गीको महत्त्वपूर्ण तीर्थस्थलको मुक्तिनाथ मन्दिरमा रहेको १०८ धारामा छाता, प्लाष्टिक र रेनकोट ओढ्न र दुई कुण्डमा सुइमिङ ड्रेस लगाएर नुहाउन रोक लगाइएको छ।
वर्षेनी आठ लाखभन्दा बढी नेपाली, भारतीय तथा तेस्रो राष्ट्रबाट दर्शन गर्न आउने धार्मिक तथा पर्यटकले स्नान गर्ने क्रममा मर्यादा विपरीतका पोशाक र गतिविधि गर्न थालेपछि कडाइ गरिएको हो। मन्दिर क्षेत्रमा प्रवेश गर्ने भक्तजनलाई नियमका बारेमा जानकारी गराउने र धार्मिक परम्पराको पालना गर्न अनुरोध गरिएको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष एवम् वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले बताउनुभयो।
मन्दिरमा आउने भक्तजन र पर्यटकलाई सहज हुने गरी पूर्वाधार विस्तार तथा अन्य सुविधा थपिएको बताउँदै कोषाध्यक्ष गुरूङले भक्तजनलाई नियम पालना गर्न अनुरोध गर्नुभयो। मन्दिर क्षेत्रमा दर्शन तथा अवलोकनका लागि स्वयंसेवकले समेत सघाउने र निगरानी गर्ने गरिएको वडा अध्यक्ष गुरूङको भनाइ छ।
यसैबीच समितिले सङ्कलन गरेको भेटीबाट १०८ धाराको उचाइ बढाउने भएको छ। धारामा तीर्थालुको टाउको र निधारमा चोट लाग्ने समस्यालाई समाधानका लागि समितिको वार्षिक साधारणसभामा चालु आर्थिक वर्ष २०८२÷०८३ सालमा बजेट सुनिश्चित गरिएको छ। समितिले मुक्तिनाथ मन्दिर परिसर, कागबेनी, दामोदर कुण्ड क्षेत्रसहित विभिन्न स्थानमा भेटीबाट पाँच करोडभन्दा बढीको पूर्वाधार बनाउन बजेट विनियोजन गरेको छ।
मुक्तिनाथमा दर्शन, पूजापाठ र स्नान गरेमा भित्री मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। संसारको जुनकुनै स्थानमा भए पनि एकपटक मुक्तिनाथको दर्शन र त्यहाँका १०८ धारा र जलकुण्डमा नुहाउँदा मोक्ष प्राप्ति हुने विश्वास छ।