• ११ असोज २०८१, शुक्रबार

सोलुमा १७१ मेगावाटको दूधकोसी–६ आयोजना निर्माण हुने

blog

काठमाडौँ,  कात्तिक  ६ गते । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका–३ मा कुल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी– ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । 

निजी क्षेत्रको सगरमाथा हाइड्रोपावरले निर्माण गर्न लागेको सो आयोजना नदी प्रवाही प्रकृतिको हो । पछिल्ला दिनमा जलविद्युत् आयोजनाको ‘हब’ का रुपमा स्थापित हुँदै गएको जिल्लामा अन्य केही आयोजनासमेत निर्माणमा क्रममा छन् । केही आयोजना भने निर्माण सम्पन्न भई केन्द्रीय प्रणालीमा बिजुली जोडिसकेका छन् । 

आयोजनाले सुख्खायाममा दुई सय ९५ र वर्षायाममा छ सय ८८ गिगावाट घण्टा गरी वार्षिक रुपमा कुल नौ सय ८४ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । दूधकोसी नदी किनारै किनार भएर आयोजना स्थलको पहुँचमार्ग निर्माण हुनेछ । मुख्य संरचना ‘डाइभर्सन वेयर’, ‘अन्डरस्लुइस’, ‘ग्राभेल ट्र्याप’, ‘सेटलिङ’, ‘बेसिन’, ‘हेडरेस पाइप’, ‘हेडरेस टनेल’, ‘सर्ज ट्याङ्क’ र ‘अडिट टनेल’ जस्ता संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ । 

सोलुखुम्बुको पासाङल्हमु गाउँपालिका ३ मा निर्माण हुने सो आयोजनाको ‘नेट हेड’ तीन सय ६७ मिटर छ । आयोजनाको विद्युत् गृह भूमिगत रहनेछ । तीन वटा ‘फ्रान्सिस टर्बाइन’ रहने आयोजनाबाट उत्पादित बिजुली दुई सय २० केभी क्षमताको ६३ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको नयाँ खिम्ती सबस्टेशनमा जोडिनेछ । 

आयोजनाको कुल लागत रु. ३० अर्ब ८० करोड बराबर रहनेछ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाको उक्त प्रतिवेदन सार्वजनिक गर्दै सम्बन्धित निकाय वा प्रभावित क्षेत्रका बासिन्दालाई राय सुझाव दिन आग्रह गरेको छ । आयोजनाले कुल आठ दशमबल तीन हेक्टर जग्गा प्राप्त गर्नुपर्नेछ । आयोजनाको निर्माण अवधिमा पाँच सय ५० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । जैविक वातावरणीय प्रभाव न्यूनीकरणका लागि आयोजनाले रु. १३ करोड ७५ लाख २९ हजार बराबरको रकम छुट्याएको छ ।