• १६ भदौ २०८१, आइतबार

तिहारमा तनहुँ जलविद्युत आयोजनाको काम सुचारु हुने

blog

अमरराज नहर्की 

तनहुँ, कात्तिक ६ गते । निर्धारित समयमा काम सम्पन्न गर्न तिहारमा पनि तनहुँ जलविद्युत आयोजनाको काम रोकिएको छैन । तिहार सुरु भइरहे पनि काम तीव्र रुपमा निरन्तर भइरहेको आयोजनाले जनाएको छ  । यसअघि दशैं नेपालीको ठूलो चाड दशैंमा समेत आयोजनाले कामलाई निरन्तरता दिएको थियो । 

तिहार बिदाको समयमा नेपाली र विदेशी दुवै कामदारबाट काम भइरहेको आयोजना निमित्त प्रमुख राजभाई सिल्पकारले गोरखापत्रलाई जानकारी दिनुभयो  । ‘दशैँले गर्दा काममा अवरोध छैन निरन्तर भइरहेको छ’ शिल्पकारले भन्नुभयो । समयमा नै काम पूरा गर्न चाडपर्वको समयमा पनि काम तीव्र गतिमा भइरहेको र दशैँको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडि बढ्ने आयोजनाले जनाएको छ ।  सिनो हाइड्रोले परिचालन गरेको चिनियाँ मजदुरले काम गरिरहेको शिल्पकारले जानकारी दिनुभयो ।

प्याकेज एक र दुई गरी २६० जना नेपाली र ४० जना चिनियाँ गरी हाल तीन सय जनाले निरन्तर काम गरिरहेका छन्’ शिल्पकारले भन्नुभयो । अधिकांश नेपाली कामदार दशैं मनाउन बिदामा बसे पनि ६० जना काम खटिएको उहाँले जानकारी दिनुभयो । दशैंको अवधिमा पानी फर्काउने सुरुङको काम भइरहेको शिल्पकार बताउनुहुन्छ । यतिबेला आयोजनाको प्याकेज एक अन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) को काम चलिरहेको छ ।

उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ । प्याकेज दुई अन्तर्गतको विद्युतगृह खन्ने काम सकिएको छ । आयोजना प्रमुख शिल्पकरका अनुसार पानी फाल्ने काम पनि सम्पन्न भएको छ । आयोजनाको प्याकेज दुई अन्तर्गत सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । 

सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाई भएको भूमिगृत विद्यृतगृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ । विद्युतगृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको थियो । अब सुरुङभित्र पूर्वाधार निर्माणको काम शनिबारदेखि सुरु गरिएको शिल्पकारले जानकारी दिनुभयो ।  

आयोजनाका अनुसार पानी ल्याउने सुरुङको काम भइरहेको छ । एक हजार ४५० मिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म ३५० मिटर खनिसकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सर्च ट्र्याक जाने पहुँच सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ । सिनो हाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको थियो। त्यस्तै २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ पनि सम्पन्न भइसकेको छ । 

प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि २५ वटा टावर निर्माण सम्पन्न भएको छ। त्यस्तै हालसम्म ४८ वटा फाउण्डेशनको कार्य सम्पन्न भएको छ । यो प्याकेजको काम भारतीय कम्पनी केइसीले पाएको छ । प्रसारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँतर्फको भूभाग प्राप्ति गर्नका लागि मुआब्जा वितरण भइरहेको छ भने चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको छ । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ ।

आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।