• १३ साउन २०८१, आइतबार

मत माग्न खेतमै उम्मेदवार

blog

शिवराज ढुङ्गाना

अछाम, कात्तिक ६ गते  । अछामका उम्मेदवार मत माग्न सर्वसाधारणका घरखेतमै पुग्न थालेका छन् । घरखेतको काममा व्यस्त रहेका व्यक्तिसम्मै पुगेर विकासे योजना सुनाएर मत मागिरहेका छन् । उम्मेदवारले रोजगारी, सडक, पुलपुलेसा, खानेपानी, गुणस्तरीय शिक्षाको मुद्दा लिएर मत माग्न थालेका हुन् । घरदैलो भेटघाटको योजना बनाएर बारीको धान, कोदो भियाउने र खेतगह्रा खनजोतमा रहेका कृषकमा पुगेर मत माग्न थालेका हुन् । 

उम्मेदवार मत माग्दै कृषकसँग धान चुट्ने, जोत्ने काममा एकछिन सहयोगसमेत गर्न थालेका दृष्यहरू पनि देखिएका छन् । निर्वाचन आयोगले उम्मेदवारको प्रचारप्रसार अभियानमा नारा, जुलुस, सभा, समारोह र आमसभा गर्न मतदान हुने दिनअघिको १७ दिन मात्रै गर्न पाउने नियम बनाएपछि यतिबेला उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् । 

सत्ता गठबन्धन, नेकपा (एमाले), राप्रपा, नेमकिपा र स्वतन्त्र उम्मेदवार फरक फरक स्थानमा चुनावी प्रचारको क्रममा घरदैलो भेटघाटमा व्यस्त रहेका छन् । गठबन्धनबाट अछाम–१ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रम, रोजगार तथा सामाजिक मन्त्री शेरबहादुर कुँवरको टोली गाउँघरमा मत माग्न व्यस्त भएको छ । सोही क्षेत्रमा नेकपा (एमाले)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार झपटबहादुर बोहरा र प्रदेशका उम्मेदवार पनि घरदैलो अभियानमा रहनुभएको छ ।    

अछाम–१ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रममन्त्री शेरबहादुर कुँवरले आफ्नै गृह पालिका चौरपाटीबाट घरदैलो भेटघाट थालनी गर्नुभएको छ । सोही क्षेत्रको प्रतिनिधि सभाका उम्मेदवार झपटबहादुर बोहराले रामारोशन गाउँपालिकाबाट घरदैलो भेटघाटबाट मत माग्न थाल्नुभएको छ । 

अछाम–१ कै स्वतन्त्र उम्मेदवार रहेका राजन कुँवर बिरामी भएर जिल्ला बाहिर रहेकाले सामाजिक सञ्जालबाट मत मागिरहनुभएको छ । नेकपा (एमाले)बाट अछाम–२ को प्रतिनिधि सभाका उम्मेदवार रहेका निवर्तमान सांसद यज्ञबहादुर बोगटी र प्रदेश सभाका उम्मेदवार शिवप्रसाद उपाध्यायले कमलबजार भएर ढकारी गाउँपालिकामा मत मागिरहेका छन् । 

सोही निर्वाचन क्षेत्रमा गठबन्धनबाट पुष्पबहादुर शाह र प्रदेश सभा सदस्यका उम्मेदवार मानबहादुर रावल पनि मङ्गलसेन हुँदै ढकारीमा घरदैलो अभियानमा छन् । अछाम–२ को प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार चन्द्रप्रसाद ढुङ्गाना, नेमकिपाका झङ्करबहादुर शाही, राप्रपाका मीनबहादुर शाही पनि मतदाता भेटघाटमा रहनुभएको छ ।  

प्रतिनिधि सभा सदस्यका उम्मेदवारसँगै प्रदेश सभा सदस्यका उम्मेदवार र समानुपातिकतर्फका उम्मेदवार पनि मत माग्न व्यस्त रहेका छन् । घरदैलो टोलीमा दलका नेतासमेत रहने गरेका छन् । निर्वाचन क्षेत्रअनुसार घरदैलो भेटघाटको तालिका नै बनाएर उम्मेदवारसहितको टोली रहेको नेकपा (एमाले) अछामका सचिव भीमबहादुर रावलले जानकारी दिनुभयो ।  

प्रतिनिधि सभाका दुईवटै र प्रदेशका चारवटै क्षेत्रमा गठबन्धन दलहरू चुनावी भेटघाटको क्रममा रहेको काँग्रेस अछामका सहसचिव दिनेशकुमार स्वाँरले जानकारी दिनुभयो । 

प्रतिनिधि सभामा दुई निर्वाचन क्षेत्र रहेको अछाममा तीन स्वतन्त्रसहित नौ जनाले मनोनयन दर्ता गर्नुभएको छ । यस्तै चार प्रदेश सभा रहेको अछाममा एक स्वतन्त्रसहित दस जनाको उम्मेदवारी परेको छ ।