• १३ असार २०८१, बिहिबार

अवरुद्ध शृङ्गपथ १० दिनपछि सञ्चालनमा

blog

अमरराज नहर्की 

तनहुँ, कात्तिक ५ गते । सडक भासिएर र ठाउँ ठाउँमा गएको पहिरोले अवरुद्ध बनेको तनहुँको दक्षिणी भेगमा पर्ने शृङ्गपथ दश दिनपछि सुचारु भएको छ । लामो समयदेखि यातायात आवागमन बन्द हुँदा खाद्यान्न ढुवानी र आवतजावतको लागि समस्या परेको थियो । 

सो पथ अन्तर्गत घिरिङ गाउँपालिका–५ देउराली नजिकको सडकमा सडक भासिएर अवरुद्ध बनेको सडकको भित्तो खारेर सेवा सुचारु गरिएको घिरिङ गाउँपालिकाका अध्यक्ष हेमबहादुर थापाले जानकारी दिनुभयो । अविरल वर्षाले गर्दा गत असोज २६ गते सडक भासिँदा सवारी साधनको आवागमन अवरुद्ध भएपछि नयाँ ट्रयाक खोलेर शुक्रबारदेखि सवारी पुनः सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा तनहुँको ऋषिङ, घिरिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लामा गुड्ने सवारी साधन रोकिएका थिए ।

दश वटासम्म डोजर प्रयोग गरी माथिपट्टि पहरा कटान गरेर नयाँ सडकमार्ग बनाइएको छ । गण्डकी प्रदेशले २५ लाख रुपियाँ बजेट उपलब्ध गराएकाले जिल्लास्थित पूर्वाधार कार्यालयले सडक निर्माणको काम गरिएको घिरिङ गाउँपालिकाले जनाएको छ । दशैँको समयमा सवारीसाधान नचलेपछि लामो दूरीको बाटो पैदल हिँडेर आफन्त, इष्टमित्र र मान्यजनको हातको टीका थाप्न जान सर्वसाधारणले कठिनाइ भोग्नुपरेको थियो । 

दशैँको समयमा धेरै दिन सम्म वर्षा भएकाले तत्काल काम गर्न नसकिएकाले केही समय ढिलाइ हुन गाउँपालिकाका अध्यक्ष थापा बताउनुहुन्छ । चाडपर्वको समयमा यात्रुको समस्यालाई मध्यनजर गरी काम तीव्र गरी सडक सुचारु गरिएको उहाँ बताउनुहुन्छ ।