• १३ साउन २०८१, आइतबार

समृद्धिको नारासहित उम्मेदवार मैदानमा

blog

प्रकाशविक्रम शाह

धनगढी, कात्तिक ५ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको माहोल क्रमशः तात्न थालेको छ। यस पटक निर्वाचन आयोगको कडा आचारसंहिताका कारण अहिलेसम्म निर्वाचन क्षेत्रहरूमा आमसभा, कोणसभा, चुनावी -याली, माइकिङजस्ता कार्यक्रम गरिएका छैनन्।

राजनीतिक दल तथा उम्मेदवार आफ्नो क्षेत्रका वडा र टोलमा चुनावी प्रचार कार्यालय, रणनीतिक बैठक, घोषणापत्र तयारीका साथै मतदाता घरदैलो कार्यक्रममा जुटेका छन्। कैलाली र कञ्चनपुरमा किसान धान भित्र्याउने चटारोमा छन्। किसान बाली भित्र्याउन व्यस्त रहेका कारण पनि अहिले गाउँटोलमा चुनावी प्रचारप्रसारले व्यापक गति लिन सकेको देखिँदैन। 

कैलालीको क्षेत्र नं. ५ सुदूरपश्चिम प्रदेशकै राजनीतिक, आर्थिक, शैक्षिक र स्वास्थ्य केन्द्रका रूपमा मानिन्छ। यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा पाँचदलीय गठबन्धन, नेकपा (एमाले) र स्वतन्त्र उम्मेदवारबीच प्रमुख प्रतिस्पर्धा हुने प्रारम्भिक आकलन गरिएको छ। निर्वाचन क्षेत्रमा चार पटक नेपाली कांग्रेस, दुई पटक एमाले र एक पटक नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन्। 

यस पटकको निर्वाचनमा पाँचदलीय गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना उम्मेदवार बन्नुभएको छ। गठबन्धन र एमाले दुवैलाई स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले चुनौती दिइरहनुभएको छ। कांग्रेसका नेता ओझाले २०७१ को उपचुनावमा यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा विजय प्राप्त गर्नुभएको थियो। उहाँलाई २०७४ सालको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै पाँच वर्षका लागि कारबाही गरिएको थियो। 

त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नं. ५ (ख)मा गठबन्धनबाट कांग्रेसका प्रकाशबहादुर देउवा र एमालेबाट दुर्गाप्रसाद जोशी उम्मेदवार हुनुहुन्छ। कांग्रेसका महासमिति सदस्य क्षितिज भण्डारी विद्रोही उम्मेदवार हुनुहुन्छ। प्रदेश सभा निर्वाचन क्षेत्र नं. ५ (क)मा गठबन्धनबाट माओवादी केन्द्रका रमेश धामी, एमालेबाट नेपालु चौधरी र माओवादी केन्द्रबाट विद्रोह गर्नुभएका रमेशकुमार बस्नेत स्वतन्त्र उम्मेदवार बन्नुभएको छ। 

कैलाली क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यका लागि दल तथा स्वतन्त्र गरेर १० जना उम्मेदवार हुनुहुन्छ। त्यस्तै क्षेत्र नं. ५ को प्रदेश (क)मा पाँच जना र प्रदेश (ख)मा आठ जना उम्मेदवार हुनुहुन्छ। 

कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवार आआफ्ना चुनावी नारा र प्रतिबद्धतासहित मतदाताको घरदैलोमा व्यस्त रहँदै गर्दा सबैको नारा र कार्यक्रमभित्र एक साझा नारा रहेको देखिन्छ, सुन्दर, समृद्ध धनगढी सहर। 

गत स्थानीय निर्वाचनका सबै उम्मेदवारको पनि नारा यही थियो। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य बनेका प्रत्येक उम्मेदवारले धनगढी उपमहानगरपालिकाका १९ वडा र कैलारी गाउँपालिकाका दुई वडालाई व्यवस्थित, सुन्दर र समृद्ध धनगढी सहरदेखि गेटा मेडिकल कलेज, विमानस्थल सेती प्रादेशिक अस्पताल, सडक, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको चुनावी 

नारा बनाएका छन्। 

पाँचदलीय गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पन्तले आफूले प्रदेश सभा सदस्यको आफ्नो पाँचवर्षे कार्यकालमा गरेका कार्य र व्यवहारका कारण प्रतिनिधि सभा सदस्यको स्वाभाविक उम्मेदवार भएको दाबी गर्नुभयो। उहाँले गेटा मेडिकल कलेज, प्राविधिक शिक्षालय, प्राङ्गारिक मल कारखाना, व्यवस्थित सहरीकरण, सेती प्रादेशिक अस्पताल र गेटा विमानस्थलको स्तरोन्नति, सामुदायिक विद्यालय तथा रोजगारी सिर्जना आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो।

कैलाली क्षेत्र नं. ५ मा एमालेबाट दुई पटक प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएका नारदमुनि रानाले विकास र राजनीतिक दुई प्रमुख मुद्दा रहेको बताउनुभयो। उहाँले पाँच वर्षको अवधिमा हुलाकी सडक, क्षेत्रीय सहरी विकास कार्यक्रम, सिटी हल, सुदूरपश्चिममा पहिलो पटक सूचना प्रविधि स्मार्ट स्कुल, प्रविधिमैत्री सहरसहितका योजना निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो। 

स्वतन्त्र उम्मेदवार ओझाले जनताको आत्मसम्मानको रक्षाको सवाललाई प्रमुख मुद्दा बनाउनुभएको छ। उहाँले यस क्षेत्रका जनताको आत्मसम्मानको रक्षा गर्नु आफ्नो दायित्व भएको बताउनुभयो। 

पाँचदलीय गठबन्धनबाट प्रदेश (ख)बाट प्रदेश सभा सदस्य उम्मेदवार देउवाले घरदैलोका क्रममा अव्यवस्थित सहरीकरण, नदी कटान, डुबान र खोलानाला अतिक्रमणको मुद्दा उठाइरहनुभएको छ। एमालेका उम्मेदवार जोशीले राजनीति पछिल्ला दिनमा विकृत बन्दै गएकोले निष्ठावान् र इमानदार युवा चुनावमा होमिनुपर्छ भनेर आफू उम्मेदवार बनेको बताउनुभयो। स्वतन्त्र उम्मेदवार भण्डारीले आफूले ३० वर्षसम्म कांग्रेसमा इमानदारी र निष्ठाको राजनीति गरे पनि पार्टीले अन्याय गरेका कारण स्वतन्त्र उम्मेदवार भएको बताउनुभयो। 

कैलाली प्रदेश सभा निर्वाचन क्षेत्र नं. ५ (क)बाट गठनबन्धनका उम्मेदवार माओवादी केन्द्रका धामीले गठबन्धनको राजनीतिक लक्ष्य पूरा गर्ने अभिभारासहित आफू उम्मेदवार बनेको बताउनुभयो। सोही क्षेत्रबाट दोस्रो पटक एमालेबाट उम्मेदवार रहनुभएका चौधरीले आफूले पाँच वर्षसम्म जनता र क्षेत्रको विकास तथा हितका लागि सुरु गरेका कामलाई निरन्तरता दिन पुनः उम्मेदवार बनेको बताउनुभयो।