• १३ साउन २०८१, आइतबार

मधेश प्रदेशमा स्वतन्त्र उम्मेदवार बढी

blog

जनकपुरधाम, कात्तिक ५ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा राजनीतिक पार्टीभन्दा स्वतन्त्र उम्मेदवार बढी छन्। मधेश प्रदेशका आठ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि एक हजार ५९८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिँदा करिब ५२ प्रतिशत अर्थात् ८४९ उम्मेदवार स्वतन्त्र नै छन्। आठवटै जिल्लामा चार/चारवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र गरी ३२ वटा र प्रदेश सभातर्फ आठ/आठवटा निर्वाचन क्षेत्र गरी ६४ वटा निर्वाचन क्षेत्र छन्।     

प्रतिनिधि सभातर्फको ३२ सिटका लागि प्रदेशमा विभिन्न दलका २९३ र २९७ स्वतन्त्र गरी ५९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ। प्रदेश सभातर्फको ६४ सिटका लागि एक हजार आठ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये विभिन्न दलबाट ४५६ र स्वतन्त्र ५५२ उम्मेदवार छन्।         

प्रतिनिधि सभातर्फ सबैभन्दा बढी धनुषामा ६६ स्वतन्त्र उम्मेदवार छन् भने प्रदेशतर्फभन्दा बढी महोत्तरीमा १०२ ले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका छन्। सबैभन्दा कम प्रतिनिधि सभातर्फ पर्सामा २३ र प्रदेश सभातर्फ सप्तरीमा ३७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।         

धनुषामा प्रतिनिधि सभाका लागि विभिन्न दलबाट ३७ र ६६ स्वतन्त्र गरी १०३ जना चुनावी प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलले जानकारी दिनुभयो। धनुषामा विभिन्न दलबाट १० पूर्वमन्त्री प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रेका छन्।     

सिरहामा प्रतिनिधि सभा सदस्यका लागि विभिन्न राजनीतिक दलबाट ३७ र स्वतन्त्र ४८ गरी ८५ उम्मेदवार चुनावी मैदानमा छन्। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत नेता उम्मेदवार रहेका कारण बढी चर्चामा रहेको सप्तरीमा प्रतिनिधि सभा सदस्यका विभिन्न दलबाट ४३ र स्वतन्त्र २६ गरी ६९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।     

महोत्तरीमा प्रतिनिधि सभातर्फ विभिन्न दलका ३४ र स्वतन्त्र ३३ गरी ६७ उम्मेदवार छन्। प्रतिनिधि सभातर्फ नै सर्लाहीमा दलका ३४ र स्वतन्त्र ३५ गरी ६९ उम्मेदवार चुनावी प्रचार अभियानमा छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसमेत उम्मेदवार रहनुभएको रौतहट जिल्लामा प्रतिनिधि सभाका लागि विभिन्न दलका ३१ र स्वतन्त्र ३६ गरी ६७ उम्मेदवार प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।     

सबैभन्दा बढी दुईवटा उपमहानगरपालिका रहेको बारा जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि विभिन्न दलका ४७ र ३० स्वतन्त्र गरी ७७ चुनावी प्रतिस्पर्धामा उत्रिँदा छिमेकी जिल्ला पर्सामा प्रतिनिधि सभाका लागि विभिन्न दलका ३० र २३ स्वतन्त्र गरी ५३ उम्मेदवार चुनावी परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छन्।     

प्रदेश सभा सदस्यका लागि पनि मधेस प्रदेशमा उल्लेख्य सङ्ख्यामा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ। प्रदेशको राजधानीसमेत रहेको धनुषामा प्रदेश सभाका लागि विभिन्न दलबाट ६१ र स्वतन्त्र ७७ गरी १३८ उम्मेदवार चुनावी मैदानमा उत्रिएको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताउनुभयो।     

सिरहामा प्रतिनिधि सभामा जस्तै प्रदेश सभाका लागि पनि दलको भन्दा दोब्बर सङ्ख्यामा स्वतन्त्रको उम्मेदवारी परेको छ। सिरहामा प्रदेश सभाका लागि विभिन्न दलबाट ४८ र ७१ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। 

सप्तरीमा प्रदेश सभा सदस्यका लागि विभिन्न दलबाट ७० र स्वतन्त्र ३७ गरी १०७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा देखिएका छन्। महोत्तरीमा प्रदेश सभा सदस्यका लागि दलबाट ६० र स्वतन्त्रबाट १०२ गरी १६२ उम्मेदवार छन् भने सर्लाहीमा प्रदेश सभाका लागि दलबाट ५९ र ७४ स्वतन्त्र गरी १३३ उम्मेदवार चुनावी महाअभियानमा होमिएका छन्।   

राजनीतिक दल छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा जान्थे । धेरै राजनीतिक दलबाटै उम्मेदवार हुन्थ्यो तर अहिले गठबन्धनका कारण थोरैले दलबाट उम्मेदवार बन्न पाए, त्यसैको परिणाम अहिले स्वतन्त्र उम्मेदवार धेरै देखिएका हुन । 

रौतहटमा प्रदेश सभा सदस्यका लागि दलबाट ४९ र ८६ स्वतन्त्र गरी १३५, बारामा दलबाट ६२ र स्वतन्त्र ४४ गरी १०६ तथा पर्सामा विभिन्न दलका ४७ र ६१ स्वतन्त्र गरी १०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कतिपय स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गर्नु र राजनीति दल गठबन्धन गरी निर्वाचनमा जाँदा आकाङ्क्षीले पार्टीबाट उम्मेदवार बन्न नपाएकाले राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढेको विश्लेषक तथा अधिवक्ता देवनारायण यादवको भनाइ थियो।     

“पहिलापहिलाको निर्वाचनमा अहिलेको जस्तो राजनीतिक गठबन्धन हुने गरेको थिएन,” उहाँले भन्नुभयो, “त्यसैले धेरै राजनीतिक दल छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा जान्थे। धेरै राजनीतिक दलबाटै उम्मेदवार हुन्थ्यो तर अहिले गठबन्धनका कारण थोरैले दलबाट उम्मेदवार बन्न पाए, त्यसैको परिणाम अहिले स्वतन्त्र उम्मेदवार धेरै देखिएको हो।”     

“यसैगरी गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेकाले पनि स्वतन्त्र उम्मेदवारी दने क्रम बढेको छ,” अधिवक्ता यादवले भन्नुभयो। स्वतन्त्र उम्मेदवारी दिएकाले भने राजनीतिक पार्टीले जनताको भावनामाथि खेलबाड गरेकाले आफूहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको जिकिर गरेका छन्।     

सिरहा क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार देवकुमार यादवले राजनीतिक दलबाट निर्वाचित भएका नेताले जनताको भावनाविपरीत दलीय दबाबमा परी जनताको हितमा काम नगरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो।     

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि यस प्रदेशमा १३ लाख ३२ हजार ६४० महिला, १५ लाख ७७ हजार ३१७ पुरुष र ६६ अन्य गरी २९ लाख १० हजार २३ मतदाता छन्। आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने व्यवस्था भएअनुसार मधेश प्रदेशमा २९ लाख १० हजार २३ मतदाता रहेको आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो।     

तीमध्ये सबैभन्दा बढी बारामा एक लाख ९१ हजार ४९० महिला, दुई लाख ३१ हजार ८२६ पुरुष र ११ अन्य गरी चार लाख २३ हजार ३२७ मतदाता छन् भने सबैभन्दा कम महोत्तरीमा एक लाख ५४ हजार ७८७ महिला, एक लाख ८१ हजार ३०७ पुरुष र एक अन्य गरी तीन लाख ३६ हजार ९५ मतदाता छन्।     

यसैगरी सप्तरीमा दुई लाख एक हजार ७१ महिला, दुई लाख १७ हजार २८२ पुरुष र २१ अन्य गरी चार लाख १८ हजार ३७४, सर्लाहीमा एक लाख ८७ हजार ८३७ महिला, दुई लाख २५ हजार ३२९ पुरुष र आठ अन्य गरी चार लाख १३ हजार १७४ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।     

धनुषामा एक लाख ९३ हजार १०४ महिला, दुई लाख १६ हजार ८७५ पुरुष र छ अन्य गरी चार लाख नौ हजार ९८५, रौतहटमा एक लाख ८५ हजार ४६ महिला, दुई लाख २२ हजार ९४५ पुरुष र एक अन्य गरी चार लाख सात हजार ९९२ मतदाता छन्।     

सिरहामा एक लाख ६९ हजार ७७२ महिला, एक लाख ९४ हजार ३४३ पुरुष र दुई अन्य गरी कुल तीन लाख ६४ हजार ११७ तथा पर्सामा एक लाख ५१ हजार आठ सय महिला, एक लाख ९४ हजार ९०४ पुरुष र १६ अन्य गरी तीन लाख ४५ हजार ९२८ मतदाता छन्।