• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिममा प्राकृतिक प्रकोप

blog

नेपालका अन्य प्रदेशका नागरिकले भन्दा सुदूरपश्चिम क्षेत्रका नागरिकले बाह्रैमास प्राकृतिक प्रकोपबाट कष्टकर जीवन बिताउनु परेको छ। हिमाली जिल्ला पनि भएकाले दुर्गम बस्तीका रैवारे (खबर ल्याउने–लैजाने मानिस) जिल्ला सदरमुकामसम्म पुग्न सकिराखेका छैनन्। वि.सं. २०७० मा भारतसँगै सीमा जोडिएको महाकाली अञ्चलको उत्तरी सिमानाको जिल्ला दार्चुलामा महाकाली नदीमा आएको बाढीले निकै ठूलो जनधनको क्षति पु¥यायो। 

दार्चुलाको सदरमुकाम खलङ्गा बजारमा नदी प्रवेश गर्दा १९ वटा पक्की घर र १४ जना मानिस बगायो। लाखौँको धनमाल क्षति भयो। राहतका लागि भारतको बाटो हुँदै बाढीपीडित काठमाडौँ पुगे। सिंहदरबारबाट क्षतिपूर्तिको बलियो आश्वासन मिल्यो तर आश्वासनमा नै सीमित रह्यो। यस पटक पनि असोज ५ गते आएको बाढीका कारण पाँच जनाको ज्यान गयो, १० जना खोलामा बेपत्ता भए, पाँचवटा घर बगायो। सदरमुकामबाट टाढा घटेको सो घटना नपत्याउँदो थियो। अविरल आएको बर्सातका कारण नसोचेको घटना बेहोर्नुप¥यो, जिल्लावासी यही भन्छन्। दार्चुलालगायत बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम र डोटीका दुर्गम बस्तीमा विगत १० वर्षयता बाढीपहिरोका कारण सयौँ मानिस विस्थापित हुनुपरेको छ। हजारौँ खेतीयोग्य जमिन बगरमा परिणत भएको दृश्य देखिन्छ। 

अछामको घटना 

सुदूरपश्चिमका नौ जिल्लामध्ये प्राकृतिक सुन्दरताले आफैँ सजिएको अछाम प्रकृतिको राजधानी मान्न सकिन्छ। कुनै बेला ७५ वटा गाविस ओगटेको अछामलाई भौगोलिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवं राजनीतिक दृष्टिले निकै महìवपूर्ण दृष्टिले हेर्ने गरिन्छ। कमलबजार, रहफ, तुर्मारवाद, भैरवस्थान आदि भूभाग दक्षिणपूर्वी भागमा पर्छन्। रहफ र तुर्मारवादलाई नागबेली आकारले झैँ कर्णाली 

नदीले घेरेको छ। यो पङ्क्तिकार देउडा गीत सङ्कलन गर्न वि.सं. २०४५ चैत महिनामा पुगेर यो अनुभव बटुलेको हुँ।

दशैँको मुखैमा आएको बाढीपहिरोका कारण तुर्मारवाद गाउँपालिका–५ का नौ जना शाही परिवारका व्यक्ति कमलबजार न.पा. ०६ र ०८ का १२ जना दलित परिवारका बासिन्दा र ढकारी गाविसका दुई वर्षीय बालक नवीन बुढाको दुःखद निधन भयो। एक जना अझै बेपत्ता छन्। त्यो दुःखद पीडाले हामी सबैको मन पोलिरहेछ। ती ठाउँको दृश्य अहिले पनि आँखा अगाडि नाँचिरहेछ। के रहेछ त आखिर जीन्दगी ? सोच्न बाध्य तुल्याउँछ हामीलाई। 

गत साल पनि साँफेबगरमा पाकेर भिœयाउनै लागेको बालीनाली दशैँताका कैलाश खोलामा आएको बाढीका कारण नष्ट ग-यो। अत्यन्तै उब्जनी हुने साँफेबगर वारिपारिका मलिला फाँट अहिले बगरमा परिणत भएका देखिन्छन्। 

गत साल दशैँपश्चात् असोज ३१ र कात्तिक १ गते सुदूरपश्चिमका तराईदेखि पहाडी जिल्लामा मुसलधारे पानी प-यो। तराई जलमग्न भयो। कैलाली, कञ्चनपुरका हजारौँ हेक्टरमा पाकेको धान डुबानका कारण नष्ट भयो। कैयौँ घर डुबानमा परे, चौपाया मरे। कैलालीको टीकापुर, मुढा, भजनीलगायतका बस्ती र कञ्चनपुरका शिवनगर, हल्दुखाल, गड्डाचौकी, पुरनवास आदिमा धानबालीको ठूलो क्षति भयो। बस्तीमा बाढी पसेर जनधनको उस्तै क्षति भयो। 

दैलेख, बाजुरा, बझाङ, डोटी, डडेल्धुरा आदि जिल्लाबाट वि.सं. २०२० देखि बस्दै आएका महाकाली नदीपारिका चाँदनी र दोधाराका पहाडी मूलका बासिन्दा नेपाल सरकारबाट केही राहत पाइन्छ कि भनी पर्खाइमा अहिले पनि ढुकेर बसेका छन्। यस्तै दैविक प्रकोप वि.सं. २०६४ को वर्षा मासमा पनि आएको थियो। त्यसबेला तत्कालीन गृहमन्त्री बामदेव गौतम, मन्त्री जनार्दन शर्मासँगै बाँकेदेखि कञ्चनपुरसम्म र सुदूरपश्चिमका पहाडी जिल्लाको हेलिकोप्टरको यात्राले मलाई पीडा बोध गरायो। गाउँगाउँमा पहिरो पसेको खेतमा लगाइएको बाली पहिरोका कारण बगरमा परिणत भएको दृश्य देखियो।

बस्तीमा जनधनको क्षति 

वि.सं. २०५६ वैशाख अन्तिम साता जिल्लाको सदरमुकाम भएर बग्ने बाउलीगाडमा एक्कासि बाढी आयो। अपराह्नतिर आएको त्यो बाढीले पशु चौपाया मात्र होइन, बडेबडेमानका ढुङ्गासमेत बगायो। केहीबेरसम्म त हिमनदी सेती पनि थुनिन पुग्यो। बालीनाली सखाप पा¥यो। गत साल असोज ३१ र कात्तिक १ गते सुदूरका सबै जिल्लामा भीषण पानी प¥यो। परिणाम बझाङको गाड बाउलीगाडमा ठूलो बाढी आयो। अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो आयो। खेतीयोग्य जमिन बगरमा परिणत भयो। १५ वटा घर, नौवटा पसल बगायो। ३२ वटा चौपाया र ११ वटा पानीघट्ट बगाएर सेती नदी पु¥यायो। त्यही क्षेत्रमा आएको मुसलधारे पानीका कारण जिल्लाको दक्षिणी भेगमा रहेको र अन्नको भण्डार मानिएको थलारा क्षेत्रमा ठूलो क्षति पु¥यायो। डिक्ला गाउँमा ठूलो पहिरो आयो। क्षणभरमै १७ जनाको ज्यान गयो। रमरणीय गाउँ पूरै कुरूप भयो। पहिरोले कुनै बेला बेसाहा दिनेहरू पहिरोका कारण आफैँ बेसाहा माग्ने भए। कल्पनासम्म गर्न नसकिने दैवीप्रकोप देखा प-यो। 

जिल्लाकै दोस्रो ठूलो अन्नको भण्डार मानिएको खप्तड छान्ना गाउँपालिका क्षेत्रमा पनि त्यही बेला नपत्याउँदो बाढी आयो। यति ठूलो क्षति पु-यायो कि अनुमान पनि गर्न सकिँदैन– लामातोला मा.वि.का पूर्वप्राचार्य जगतबहादुर थापा आफ्नो अनुभव सुनाउनुहुन्छ। सो बाढीका कारण पाँच जना मानिसको ज्यान गयो, छ जना बेपत्ता भए १०५ वटा पशु चौपाया मरे, नौवटा घट्ट बगायो। धानबाली र फलफूल खेती नष्ट ग¥यो । रेग्मी थरको उद्गमस्थल रेगममा पनि स्थानीय खोलामा आएको बाढीले रेगम मरुभूमि बन्यो। सेती नदीको तीरमा रहेको सो स्थान र मौरी खोलाको बाढीले बगाएको दृश्य देख्दा अहिले पनि जिल्लावासी बेसहाराझैँ देखिन्छन्। सो घटनाको अवलोकन गर्न र क्षतिपूर्ति दिलाउन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाण सम्बन्धित स्थलमा पुग्नुभयो। 

यसैगरी जिल्लाको उत्तरी बेल्टमा रहेको तलकोट गा.पा.–४ मा घनघोर जङ्गल पखालेर आएको बाढीका कारण धान, कोदो, मास्र्या बाली नष्ट मात्र गरेन, जमिन पनि कहिल्यै खेती गर्न नहुने पारिदियो। पङ्क्तिकारले सानोमा गाईबस्तु चराउने रमरणीय जङ्गल पनि हो त्यो ठाउँ। आफ्नै आँखा अगाडि खेतीयोग्य जमिन पाखो जमिन पहिरोले पखालेको देख्दा निकै दुःख लाग्यो। यसका अलवा मष्टा गाविसमा पर्ने द्वारी गाउँ, सदरमुकामसँगै जोडिएको गडखेत, सुवेडा, देउल ऐतिहासिक स्थल देउरा, भाँण्या, बागथलोलगायतका धेरै ठाउँका बासिन्दाले उच्च सतर्कतामा रहनुपर्ने देखिन्छ। 

जोखिमपूर्ण सदरमुकाम र बस्ती

पहिरोको उच्च जोखिम र नदीको पनि जोखिमपूर्ण अवस्थामा रहेको जिल्ला सदरमुकाममा बझाङको चैनपुर छ। सेती नदी र बाउलीगाडबीच अवस्थित चैनपुरवासी जनताले वर्षभरि पूरा निद्रा सुत्न पाउँदैनन्। उसैगरी बाजुराको मार्तडी, अछामको साँफेबगर बस्ती, डोटीको सिलगडी, नौला केदार, बैतडीको गोठालापानी, दार्चुलाको सदरमुकाम खलङ्गा बजार निकै जोखिमपूर्ण अवस्थामा छन्। मौसमी वर्षाभन्दा बेमौसमी वर्षाका कारण भयभीत हुनुपर्ने अवस्था देखिन्छ। कर्णालीका जिल्ला सदरमुकाममा कालीकोट जिल्लाको मान्मा खाँडाचक्र, हुम्लाको सिमकोट, जुम्लाको जुम्ली खलङ्गा, मुगुको गमगढी पनि प्रकृति प्रकोपको उच्च जोखिममा छन्। यी र यस्ता अनुभव देउडागीत सङ्कलन गर्न पङ्क्तिकार धेरै वर्षसम्म यस क्षेत्रमा हरेक बस्तीमा जाँदा गरेको छु। 

वनजङ्गल नासेर डोजरले आफूखुसी तवरले सडक निर्माण गर्दाको परिणति यहाँका बासिन्दाले भोग्नु परेको यथार्थता सुनाउँछन्– स्थानीय अधिकारी। कैलालीको गोदावरीदेखि डडेल्धुराको अनारखोलीसम्मको सडक ठाउँठाउँमा भासिएर गएको देखिन्छ। बैतडीको व्यस्त बजार खोड्पेदेखि बझाङको सदरमुकाम चैनपुरसम्मको जयपृथ्वी राजमार्ग पूरै जोखिमपूर्ण छ। ठाउँठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भई हरेक दिन यात्रुले सास्ती भोग्नु परेको छ।