• ११ असोज २०८१, शुक्रबार

मादल बनाउन भ्याइनभ्याइ लामगादे दम्पतीलाई

blog

बाला भट्टराई

म्याङ्लुङ, कात्तिक ४  गते ।  सानो कच्ची घर । रातो माटाले चिटिक्क लिपिएको सिकुवा । वरिपरि मादलले घेरिएको खाटमाथि बसेर मादल बनाउन र मर्मत गर्न व्यस्त हुनुहुन्छ  तेह्रथुमको म्याङ्लुङ नगरपालिका– ९ साब्लाका लोकबहादुर लामगादे । यतिबेला उहाँलाई मादल बनाउन र मर्मत गर्न भ्याइनभ्याइ छ । 

तिहारका बेला मादलको अत्यधिक माग हुने भएकाले लामगादेलाई मादल बनाउने चटारो भएको हो । उहाँ लामो समयदेखि यही पेसामा आबद्ध हुनाका साथै गुजरासमेत  गर्दै आउनुभएको छ । भेषमा लागेको खरिको कालो धुलो हातले टकटक्याउँदै लामगादे भन्नुहुन्छ, “हामीलाई असारको १५ भएको छ । न  भात खाने फुर्सद छ न त मादल बनाउन बिसाएर कसैसँग एकैछिन बोल्ने फुर्सद नै । बिहान उज्यालो भएदेखि बेलुका अँध्यारो नभएसम्म यतिकै धमाधम हुन्छ हामी बूढाबूढीलाई । तिहारमा मात्रै काम बढी हुन्छ, काम अनुसारको कमाइ नि हुन्छ । यसैबाट हाम्रो गुजारो चलेको छ ।”

आफ्नो बुबाबाट सिकेको सीपलाई आफूले उपयोग गरे पनि  आफ्ना छ भाइ छोराको पालनपोषण र शिक्षामा कमी हुन दिनु भएन । मादलबाट भएको आम्दानीले गुजारा चलाउँदै आइएको उहाँको भनाइ छ  । तिहारको समय देउसी भैलो खेल्नेले नयाँ मादल किन्ने, खरी हाल्ने, मादल कस्ने, छाला फेर्नेको घुइँचो लागेपछि उहाँ यतिबेला बेफुर्सदिलो बन्न थाल्नुभएको हो । बिहान ६ बजेदेखि राति ११ मादलकै काममा व्यस्त हुन्छन् । 

तिहारको समय दैनिक पाँच÷सात जना नयाँ मादल किन्ने र त्यतिकै मात्रामा बनाउनेहरू आउँछन् । नयाँ किन्नेभन्दा नि मर्मत गर्ने बढी आउने गर्दछन् । पहिले पहिले तिहारमा मात्र बिक्री हुन्थ्यो तर यतिबेला गाउँ गाउँमा भजनकीर्तनले गर्दा अरुबेला पनि मादलको माग बढ्न थालेको लामगादेकी श्रीमती विष्णुमाया बताउनुहुन्छ । 

एउटा मादल रु दुई हजारदेखि रु सात हजारसम्ममा बिक्री गर्ने गरेको लामगादेको भनाइ छ । मर्मत गरेको मादल रु आठ सयदेखि एक हजार २०० सम्म लिने गरेको उहाँ उल्लेख गर्नुहुन्छ । अझ तिहारको समयमा त दिनको १५÷१६ हजार रुपैयाँसम्म कमाई हुने गरेको लामगादे दम्पतीको भनाइ छ । उहाँका अनुसार असोजदेखि माघसम्म मादल बढी बिक्री हुने र बढी मर्मत पनि हुने गर्दछ ।

आफू मात्रै होइन दाजु मानबहादुरलाई पनि यो समय मादल बनाउन भ्याइनभ्याइ छ । अन्य समय कहिलेकाहीँ खाली हात बस्न बाध्य भए पनि तिहारको समय राम्रो कमाइ हुने गरेको मानबहादुर बताउनुहुन्छ । उहाँले पनि लामो समयदेखि यो पेसा गर्दै आउनुभएको छिमेकी अर्जुन काफ्लेको भनाइ छ ।  

तिहारका समयमा दिनमा तीन÷चार वटा नयाँ मादल बिक्री हुने गरेको र नौ÷१० वटा मर्मत गर्ने गरिएको मानबहादुर जानकारी दिनुहुन्छ । “तिहारका समय मात्रै रु ६०/७० हजार कमाएँ होला । अझै केही दिन त बाँकी नै छ”, उहाँ भन्नुहुन्छ । 

उनीहरू यो समय मादल मोड्ने, गोठी हाल्ने, ढाक्नेजस्ता काममा व्यस्त छन् । काठ, बाख्रा वा भैँसीको छाला, अङ्गार, किट, खरीलगायत सामग्री मिसाएर उनीहरूले मादल तयार पर्ने गरेका छन् । मादलको ढुङ्ग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले हिजोआज काठ खोज्न समय लाग्ने  भएको छ । मौवा, खिर्रो, मलेतोलगायत काठबाट मादलका लागि ढुङ्ग्रो बनाउने गरिएको छ । मौवा र घ्वारीको काठमा मादलको स्वर राम्रो सुनिने लामगादेको भनाइ छ ।