• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री देउवाद्वारा पर्वतीय सङ्ग्रहालयको अवलोकन

blog

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार पोखरा–१७, रातोपैह्रामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्नुहुँदै । तस्बिरः हरिप्रसाद बाँस्तोला,रासस

गण्डकी, कात्तिक ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आज अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रधानमन्त्री देउवाले रुचिपूर्वक अवलोकन गर्नुभएको हो ।     

नेपाल पर्वतारोहण सङ्घद्वारा स्थापना गरिएको सङ्ग्रहालय भवनभित्र विभिन्न चारवटा कक्षअन्तर्गत १२ उपकक्षमा हिमाल र हिमालीका गतिविधि बारेमा सङ्ग्रह गरी प्रदर्शन गरिएको छ । सङ्ग्रहालयमा पर्वतीय मानव कक्ष, हिमालीको सामाजिक, सांस्कृतिक धार्मिक एवम् आर्थिक क्रियाकलाप झल्काउने सामग्री, विश्वका पर्वत शृङ्खलाको उत्पत्ति, भौगर्भिक महत्त्व, वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थको प्रदर्शन गरिएको छ ।

उक्त कक्षमा विश्वका पर्वत शृङ्खलामा हुने पर्वतारोहण, पदयात्रा, स्किइङ, सिकार, अनुसन्धानजस्ता मानवीय गतिविधिका महत्त्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी गरिएको छ । सङ्ग्रहालयमा यतिखेर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको छ ।

विश्वका हिमाल र हिमाली क्षेत्रका बारेमा अनुसन्धान गर्ने अध्येता, अन्वेषकका लागि उपयुक्त थलोको रूपमा लिइएको सङ्ग्रहालय परिसरमा निर्माण बोटानिकल गार्डेन, मनास्लु हिमालको मोडल, ढलोटको याकलगायतका विविध संरचना निर्माण गरिएको छ ।     

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा पोखरा आउनु भएका प्रधानमन्त्री देउवाले सङ्ग्रहालयको अध्ययन अवलोकनसँगै संस्थाको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । त्यसअघि उहाँलाई नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पा, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेलगायतले स्वागत गर्नुभएको थियो ।  रासस