• १९ असोज २०८१, शनिबार

अनधिकृत होर्डिङ बोर्डका कारण सिभिललाई जरिवाना

blog

कोहलपुरमा अनधिकृत रुपमा राखिएका प्रचार सामग्री हटाउँदै नगर प्रहरी । तस्बिर - सिराज खान

सिराज खान 

नेपालगञ्ज, कात्तिक ३ गते । कोहलपुर नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा अनधिकृतरुपमा राखिएका होर्डिङ बोर्ड र ब्यानरलगायतका प्रचार सामग्री हटाउने अभियानलाई तीव्र पारेको छ । 

नगरपालिकाको स्वीकृतिविना बजार क्षेत्रलाई नै कुरूप बनाउने गरी राखिएका त्यस्ता प्रचार सामग्री हटाउने कार्यलाई नगरपालिकाको सुरक्षा निकाय नगर प्रहरीले तीव्र पारेको हो ।

नगरपालिकाको तत्काल नगरभित्रका सबै अनधिकृत प्रचार सामग्रीलाई हटाउन दिएको निर्देशनको पालना गर्दै हटाउने कार्यलाई तीव्र पारिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताउनुभयो ।

उहाँले सो अभियानको क्रममा हालसम्म करिब पाँच सय फ्ल्यास बोर्ड र होर्डिङ बोर्ड हटाइसकेको जनाउँदै अझै सो कार्य जारी रहेको बताउनुभयो । विज्ञापन प्रयोजनका लागि अनधिकृतरुपमा राखिएका त्यस्ता प्रचार सामग्री हटाएर सम्बन्धित निकायलाई कारबाहीको दायरामा समेत ल्याउन थालिएको थापाको भनाइ छ ।  

अनधिकृतरुपमा आफ्नो प्रचार सामग्री राखेको पाइएपछि सिभिल बैङ्कलाई कारबाहीको दायरामा ल्याइएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकासँग स्वीकृति नलिएरै सिभिल बैङ्कले विद्युतका पोलमा ३२ वटा होर्डिङ बोर्ड राखेको पाइएपछि बैङ्कलाई १६ हजार रुपियाँ जरिवाना गरेर नगर प्रहरीको नियन्त्रणमा रहेका होर्डिङ बोर्ड फिर्ता गरिएको नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले बताउनुभयो । 

नगरपालिकाको स्वीकृतिविना प्रचार सामग्री राखिए विज्ञापन नियमन ऐन २०७६ अनुसार कारबाही गरिने पनि नगरपालिकाले चेतावनी दिएको छ । कोहलपुर बजारदेखि पार्वतीपुर, रोहिणी खोला र मदन चोक क्षेत्र भित्रका अधिकांश प्रचार सामग्री हटाइसकिएको पनि नगरपालिकाले जनाएको छ ।