• १९ असोज २०८१, शनिबार

सीमाको रक्षा गर्ने नेपाली सच्चा राष्ट्रवादी : गृहमन्त्री खाण

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री बालकृष्ण खाण ।

श्यामशंकर पाण्डे

लुम्बिनी, कात्तिक ३ गते । गृहमन्त्री बालकृष्ण खाणले सीमा क्षेत्रका बस्ने बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताउनुभएको छ । गृहमन्त्री खाणले नेपालको एक इन्च भूमि पनि दायाँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली दाजुभाइहरू नै राष्ट्र र राष्ट्रियताप्रति सच्चा पहरेदार रहेको बताउनुभयो ।

रुपन्देहीको सियारी–२ मा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार खाणले अहिले धेरैले आफूलाई राष्ट्रवादी बनाउने कोसिस गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले सबैभन्दा बढी राष्ट्रवादी भनेकै सीमा क्षेत्रमा बस्ने नेपालीहरू भएको दाबी गर्नुभयो । उहाँले सीमा क्षेत्रका बासिन्दालाई सरकारले सधैँ उच्च सम्मान गर्दै आएको र गरिरहने समेत धारणा व्यक्त गर्नुभयो ।

‘‘मुलुकको सीमानामा स्थायी बसोबास भएका, आफूहरूको घर, आँगन, जग्गा, कुलो भनेर दिनरात सीमाको रक्षा गर्ने स्थानीय सच्चा राष्ट्रवादी हुन भन्ने मेरो र सरकारको ठम्याई हो,’’ गृहमन्त्री खाणले भन्नुभयो । उहाँले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका दुःख, मर्का, पीडा र समस्या समाधान गर्न सरकार लागि परेको समेत जानकारी दिनुभयो ।

‘‘हामीले सीमावासीलाई पर्ने हरेक समस्यामा साथ दिँदै आएका छौँ, नेपाली कांग्रेस र गठबन्धन सरकार सधैँ तपाईँहरूको साथमा छ, ढुक्क भएर नेपाली भूमिको रक्षा गर्नुस्, निर्धक्क भएर आफ्नो दैनिकी सञ्चालन गर्नुस्,’’ उहाँले भन्नुभयो, ‘‘समस्या परे सरकारले सहयोग गर्छ, समाधान गर्छ, यहाँहरूको हीतका काम गर्छौँ ।’’