• १९ असोज २०८१, शनिबार

आचारसंहिता उल्लङ्घनका विषयमा मिडिया वाचडग हुनुपर्छ : आयुक्त डा.तुलाधर

blog

निर्वाचनका लागि लुम्बिनी प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको बिहीबार नेपालगञ्जमा उद्घाटनपछि सम्बोधन गर्नुहुँदै आयुक्त डा. जानकी कुमारी तुलाधर । तस्बिर : निर्वाचन आयोग

काठमाडौं, कात्तिक ३ गते । निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधारले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित एवम् मितव्ययी निर्वाचनका लागि राज्यको चौथो अङ्ग पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि लुम्बिनी प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको बिहीबार नेपालगञ्जमा उद्घाटन गर्नुहुँदै आयुक्त डा. तुलाधरले आयोगले मिडियासँग ‘हामी सधैँ सँगै’ भन्ने मूल मन्त्रका साथ सहकार्य गरिरहेको बताउनुभयो ।

संवैधानिक काम, कर्तव्य र दायित्व पूरा गर्न आयोग सक्षम रहेको बताउनुहुँदै उहाँले मिडियासँगको सहकार्य र समन्वयलाई आयोगले उच्च महत्त्व दिएको बताउनुभयो । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी निर्वाचन गराउन मिडिया र सञ्चारकर्मीको सक्रिय र रचनात्मक भूमिका अपरिहार्य रहेको आयुक्त तुलाधारको भनाइ छ ।


आयोगको नीति र रणनीतिअनुसार नै मिडिया अभिमुखीकरण आयोजना गरिएको बताउनुहुँदै उहाँले निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचन पश्चातका समयमा हुने गतिविधिमा मिडियाको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।

निर्वाचन आचारसंहिता पूर्ण पालना सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै आयुक्त डा. तुलाधरले आचारसंहिता उल्लङ्घन गर्नेहरूको रिपोर्टिङ गरी आयोगलाई सूचना दिएर मिडियाले सहयोग पुर्‍याउनुपर्ने बताउनुभयो ।

राजनीतिक दल तथा उम्मेदवारले गर्ने निर्वाचन प्रचार प्रसारका क्रममा आचारसंहिता उल्लङ्घन गरे/नगरेको विषयमा वाचडगको भूमिका मिडियाले निर्वाह गर्न सकेमा निर्वाचनको स्वच्छता कायम राख्न सकिने आयुक्त डा. तुलाधरको भनाइ छ ।


निर्वाचनका क्रममा प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न मिडिया र सञ्चारकर्मीहरू अगुवा गर्नुपर्नेमा आयुक्त डा. तुलाधरले जोड दिनुभयो । सामाजिक सञ्जालबाट प्रवाह हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति नियमन गर्न आयोगले विभिन्न टेक कम्पनीहरूसँग सहकार्य गरिरहेको जानकारी पनि उहाँले सो अवसरमा दिनुभयो ।

मतदानस्थल, मतदातालाई पहुँचयोग्य बनाउन मिडियाहरूले दिएको सुझावलाई मनन् गरेर आयोगले सुधार गरेको बताउँदै उहाँले कुनै पनि मतदाता आफ्नो मताधिकारबाट वञ्चित नहोउन् भनेर आयोग सजग रहेको बताउनुहुँदै उहाँले मतदानको महत्त्व र मतदान गर्ने सही तरिकाबारे मिडियाले सामग्री सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । मतदाता शिक्षालाई मतदाताको घरदैलोमा पुर्‍याउने गरी आयोगले संयन्त्र निर्माण गरेको उहाँ बताउनुहुन्छ ।


स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन मिडिया तथा सञ्चारकर्मीहरूले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आयुक्त डा. तुलाधरले अभिमुखीकरण कार्यक्रमबाट सञ्चारकर्मीलाई निर्वाचनका विविध पक्षबारे बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।