• ५ जेठ २०८१, शनिबार

जनमत निर्माणमा लाग्न आग्रह

blog

ललितपुर, कात्तिक ३ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्सिर ४ गतेको निर्वाचन परिवर्तनका विरोधी र परिवर्तनका पक्षधरबीचको लडाइँ भएको बताउनुभएको छ । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र संविधानको रक्षा गर्ने शक्ति र परिवर्तन उल्टाउन खोज्ने शक्तिबीचको लडाइँ आगामी निर्वाचन भएको उहाँको भनाइ छ ।

प्रेस सेन्टर ललितपुरले राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीको स्मृतिमा प्रकाशन गरेको ‘मिलन स्मारिका’को बुधबार विमोचन गर्दै अध्यक्ष प्रचण्डले आउँदो निर्वाचन सामान्य निर्वाचन नभएको बताउनुभयो । उहाँले निर्वाचन सामान्य निर्वाचन मात्रै हो भन्ने छुट नभएको भन्दै जनमत निर्माणमा लाग्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो । 

प्रतिक्रियावादीले माओवादी र नेतृत्वमाथि निरन्तर प्रहार गरिरहेको चर्चा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “हामी बलियो हुँदा परिवर्तन जोगिन्छ र समाजवादमा जाने आधार पनि तयार हुन्छ । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र संविधानको रक्षा हुन्छ ।”

माओवादी बलियो भए प्राप्त उपलब्धिको रक्षा र विकास हुने प्रचण्डको दाबी छ । राज्यले बेपत्ता पारेका पत्रकार मिलन नेपाली निकै क्रान्तिकारी पत्रकार भएको चर्चा गर्नुभयो । कार्यक्रममा नेपालीकी पत्नी सविता बस्नेतलाई सम्मान गरिएको थियो । पत्रकार नेपालीलाई राज्यद्वारा २०५६ मा काठमाडौँको सुन्धाराबाट दण्डपाणि न्यौपानेसहित पक्राउ गरी बेपत्ता बनाइएको थियो । त्यस्तै माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धन संविधानको रक्षाका लागि बाध्यात्मक भएको दाबी गर्नुभएको छ । माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको बुधबार सम्पन्न प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले एजेन्डा र विचारका हिसाबले माओवादीभन्दा अर्को कुनै शक्ति नभएको जिकिर गर्नुभयो । 

श्रेष्ठले भन्नुभयो, “चुनावदेखि चुनावसम्म, सत्तादेखि सत्ता मात्र हाम्रो आन्दोलनको सृष्‍िट होइन, हाम्रो अभियान भनेको समाजवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरेरै छाड्ने हो ।”