• ११ असोज २०८१, शुक्रबार

ओखलढुङ्गामा गठबन्धन र एमाले उम्मेदवारबीच प्रतिस्पर्धा

blog

शेरबहादुर राई 

ओखलढुङ्गा, कात्तिक २ गते । मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा संयुक्त लोकतान्त्रिक बाम गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।  

प्रतिनिधि सभातर्फ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामहरि खतिवडा र नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बन्नुभएका यज्ञराज सुनुवारबीच प्रतिस्पर्धा हुने देखिएको हो । २०७० र २०७४ को निर्वाचनमा विजयी हुनुभएका एमालेका सुनुवार तेस्रो पटकको जितका लागि मैदानमा हुनुहुन्छ ।   

२०७४ को निर्वाचनमा एमालेका सुनुवारसँग पराजित हुनुभएका कांग्रेसका खतिवडा बदला लिने दाउमा हुनुहुन्छ । पाँच वर्षअघिको निर्वाचनमा नेकपा (माओवादी) र एमालेको वाम गठबन्धनबाट सुनुवार विजयी हुनुभएको थियो । सुनुवार र खतिवडा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा ओखलढुङ्गा निर्वाचन –१ र २ बाट निर्वाचित हुनुभएको थियो । २०७४ देखि ओखलढुङ्गामा एक मात्र निर्वाचन क्षेत्र कायम भएको हो ।  

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिका तथा वडाका उम्मेदवारले प्राप्त गर्नुभएको मत परिणामलाई आधार मान्दा कांग्रेसका उम्मेदवार खतिवडाले आफू बलियो भएको दावी गर्नुभयो । यस निर्वाचनमा आफूलाई सहज हुने उहाँको भनाइ छ । 

स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरुले प्राप्त गर्नुभएको मतअनुसार कांग्रेसले ३२ हजार २८८ मत प्राप्त गरेको थियो । त्यस्तै, एमालेले २९ हजार ५९१, माओवादी केन्द्रले छ हजार ९६१, जनता समाजवादी पार्टीले दुई हजार १९४, एकीकृत समाजवादीले ५२१ र राप्रपा नेपालले १४६ मत पाएको थियो ।

सो मतअनुसार एमालेभन्दा गठबन्धन १० हजार बढी मतले अगाडि देखिन्छ । गठबन्धनका उम्मेदवार खतिवडाले आफू यस पटक १२ हजार मतान्तरले चुनाव जित्ने दाबी गर्नुभयो । यता एमालेको तर्फबाट उम्मेदवार सुनुवारले आफू ह्याट्रिक गर्ने बताउनुभयो ।

यस निर्वाचनमा कांग्रेसबाट खतिवडा, एमालेबाट सुनुवारलगायत जनता समाजवादी पार्टीबाट जुद्धबहादुर राई, मंगोल नेसनल अर्गनाइजेशन पार्टीबाट बिर्जबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीबाट कुमार तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शोभा कार्की र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) बाट ङिमाल्हमु शेर्पाबीच प्रतिस्पर्धा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

प्रदेश सभातर्फ पनि प्रतिस्पर्धा

ओखलढुङ्गा प्रदेश सभा क्षेत्र (क) र (ख) दुवैतर्फ गठबन्धन र एमालेका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । क्षेत्र (क) तर्फ गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य प्रदिपकुमार सुनुवार र एमालेका उम्मेदवार प्रदेश नं. १ का पूर्वमन्त्री अम्बीरबाबु गुरुङ हुनुहुन्छ । 

त्यसैगरी, क्षेत्र (ख) तर्फ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बाबुराम गौतम र एमालेबाट ज्ञानबहादुर खड्का उम्मेदवार हुनुहुन्छ । सुनुवार काँग्रेसको दुई पटक लगातार जिल्ला सभापति र अहिले केन्द्रीय सदस्य हुनुहुन्छ । २०५४ सालमा गाविस अध्यक्ष तथा जिल्ला पार्टी सभापति हुँदा तत्कालीन जिल्ला विकास समितिको राजनीतिक संयन्त्रको नेतृत्व लिएर काम गर्नुभएको थियो । सुनुवार स्थानीय विकासको संरचना र भूगोलबारे जानकारी भएका नेताका रूपमा परिचित हुनुहुन्छ । 

प्रदेश सभा (क) मा चार स्थानीय तह छन् । यसमध्ये गत स्थानीय तह निर्वाचनमा काँग्रेस र माओवादी गठबन्धनबाट चिंशखुगढी गाउँपालिकामा प्रमुख उपप्रमुख सिद्धिचरण नगरपालिकामा प्रमुख तथा खिजीदेम्वामा उपप्रमुख जितेका छन् । 

गठबन्धनको तर्फबाट कांग्रेसका प्रदिप सुनुवार, एमालेका अम्बीरबाबु गुरुङसहित प्रदेश (क) मा सातजना उम्मदेवार हुनुहुन्छ । जनता समाजवादी पार्टीबाट खेमराज खड्का, मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट लाक्पा शेर्पा, नेमकिपाबाट नवराज खत्री प्रदेश (क) बाट प्रतिनिधि सभाका लागि प्रतिस्पर्धामा हुनुहुन्छ ।  

यता प्रदेशसभा (ख) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बाबुराम गौतम र एमालेका उम्मेदवार ज्ञानबहादुर खड्काबिच मुख्य चुनावी प्रतिस्पर्धामा हुँदैछ । यसका साथै अन्य दलहरुबाट पनि प्रदेश (ख) बाट प्रदेश सभाका लागि उम्मेदवार बन्नुभएको छ । जनता समाजवादी पार्टीबाट शान्तबहादुर वि.क, मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट बुद्धिमान राई र टेकनाथ अधिकारीले प्रदेश सभाका लागि क्षेत्र (ख)बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यस क्षेत्रमा चारवटा स्थानीय तह छन् ।