• ११ असोज २०८१, शुक्रबार

निर्वाचन देशको भविष्य बनाउने अवसर हो : अध्यक्ष ओली

blog

दमकको निजी निवासबाट कार्यक्रममा निस्कँदै नेकपा (एमाले) अध्यक्ष केपी ओली। तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक २ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो निर्वाचन सामान्य निर्वाचनमात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताउनु भएको छ। 

गठबन्धनका नेता तथा उम्मेद्वारले आचारसंहिता उलङ्घन गरिरहेको भन्दै निर्वाचन आयोगको यसमा ध्यान दिनु पर्ने बताउनुभएको छ। झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने कार्य निर्वाचन आयोगले रोक्नुपर्ने उहाँको भनाइ छ। 

झापाको धुलाबारीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्नुहुँदै ओलीले देशभक्त र राष्ट्रवादीशक्ति एकातिर र अर्कोतर्फ स्वार्थ समूहबीच निर्वाचनमा प्रतिस्पर्धा भइरहेको टिप्पणी गर्नु भएको छ। 

उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई कानुनको पूर्ण पालना र आचारसंहिताको ख्याल गर्नका लागि अनुरोध गर्नुभयो। निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ। 

मंगलबार झापा आउनुभएका ओली बुधबार बिहान १० बजेपछि नियमित कार्यक्रम तथा भेटघाटमा सहभागी हुनुभएको छ। स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँ मंगलबार निर्धारित कार्यक्रममा उपस्थित हुन सक्नुभएको थिएन।