• १९ असोज २०८१, शनिबार

तिहारलक्षित अनुगमनमा तीव्रता

blog

काठमाडौँ, कात्तिक २ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तिहारलक्षित अनुगमनलाई तीव्रता दिएको छ । ‘जागरुक उपभोक्ता, जिम्मेवार बिक्रेता’ भन्ने नाराका साथ अनुुगमन गर्दै आएको विभागले दशैँ सकिएलगत्तै  तिहारलक्षित अनुगमनलाई तीव्रता दिएको हो । 

विभागका अनुसार विभागका बजार निरीक्षक अधिकृतको नेतृत्वमा तिहारका बेलामा बढी खपत र माग हुने सामानमा मूल्य र गुणस्तरमा केन्द्रित भएर अनुगमन सुरु भएको छ । 

विभागले पछिल्ला दिनमा बढी बिक्री हुने भाँडाकुुँडा, लत्ताकपडा, खाद्यवस्तुु, मिठाई, फलफूल तरकारी, भाइमसला, बिजुलीका सामान बिक्री गर्ने पसलको अनुगमनलाई बढी प्राथमिकतामा राखेर अनुगमन गरेको जनाएको छ । 

विभागका निर्देशक होमनाथ भट्टराईले तिहारमा उपभोक्ताबाट बढी माग हुने वस्तुलाई लक्षित गरेर हाल दैनिक आठ÷नौवटा फरक फरक टोलीमार्फत उपत्यकाका विभिन्न ठाउँमा अनुगमन गरिरहेको जानकारी दिनुभयो । 

विभागको अनुगमन टोलीले तिहारको किनमेलका लागि बढी उपभोक्ताको भीड लाग्ने उपत्यकाका कालीमाटी, कुुलेश्वर, पाटनको मङ्गलबजार, न्युरोड, असन, बालाजु, सुन्धारा, बानेश्वरलगायत आसपासका क्षेत्रमा बिजुली पसल, भाइमसला पसलको अनुगमन गरेर जथाभावी मूल्य गर्ने व्यापारीलाई जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार विभागका टोलीले यस अवधिमा सुन्धारा आसपासका बिजुली पसलको अनुगमनका क्रममा मूल्यसूची नराख्ने दर्जन बढी इलेक्ट्रिकल्स, डेरी उद्योगलाई जरिवाना गरेको छ । ती पसलेलाई न्यूनतम पाँच हजारदेखि बढीमा एक लाख रुपियाँसम्म जरिवाना गरेको छ ।  

उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार बजार अनुगमनका क्रममा कुनै पनि कैफियत देखिएमा अनुगमन अधिकृतले तत्कालै पाँच हजारदेखि दुुई लाख रुपियाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । 

अनुगमनका क्रममा मुख्य गरी मूल्यसूची राखे नराखेको, पसल दर्ता नवीकरण गरे वा नगरेको, उपभोग्यवस्तुुको उपभोग मिति भए वा नभएको, अधिकतम खुद्रा मूल्यलगायतमा केन्द्रित भएर अनुुगमन गरिएको छ । तिहारमा झिलिमिली बत्ती, मिठाइ, भाइमसला, फलफूल, तरकारी तेल, मैदा, आँटा, सयपत्री तथा मखमली फूलका माला लगायतका वस्तु धेरै कारोबार हुन्छ ।