• १९ असोज २०८१, शनिबार

काउन्सिल सञ्चार अनुगमनमा सक्रिय

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, कात्तिक १ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी प्रेस काउन्सिल नेपालले मिडिया अनुगमनलाई तीव्र बनाएको छ । काउन्सिलले गर्दैआएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचनलक्षित सञ्चार माध्यममा आचारसंहिताको अनुगमनसमेत गरिरहेको काउन्सिलले जनाएको छ ।

अनुगमनका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको छुट्टाछुट्टै समूह बनाइ काम सुरु गरेको काउन्सिलका उपप्रशासकीय अधिकृत एवम् सूचना अधिकारी रामशरण बोहराले जानकारी दिनुभयो । काउन्सिलले  आज मंगलबार अनुगमनमा खटिएका कर्मचारीसहित तथ्याङ्कविज्ञसँग छलफल गरेको जनाएको छ ।

यसअघिका आम निर्वाचनमा समेत तथ्याङ्क प्रशोधनसहित अनुगमनको अनुभव सङ्गालेका तथ्याङ्कविज्ञद्वारा तथ्याङ्क प्रशोधन, अनुगमन विधिबारे अभिमुखीकरण कार्यक्रम गरिएको सूचना अधिकारी बोहराले बताउनुभयो । काउन्सिलले आफ्नो नियमित अनुगमनसँगै निर्वाचन अनुगमनलाई समेत निरन्तरता दिएको जनाएको छ ।

पत्रकार तथा सञ्चार माध्यमसम्बद्ध सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन समेत भइरहेको उहाँले बताउनुभयो । यसअघि काउन्सिलले २०६४ को संविधान सभा निर्वाचन, २०६५ सालको उपनिर्वाचन, २०७४ सालको स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचन र २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सञ्चार माध्यम विशेष अनुगमन गरी यसअघि प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।